सुरुङ्गा नगरपालिका-७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या कसुरमा सोही ठाउँका २५ वर्षीय प्रमोदकुमार रामलाई ०८१ असार २८ गते १० वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैदका साथै पीडितका हकवालालाई क्षतिपूर्ति भर्नुपर्ने फैसला गरेको अदालतले जनाएको छ ।
आरोपितले २०८० कात्तिक ३० गते पीडितको हत्या गरेको भन्दै मृतकका छोरा दुर्गानन्द मोचीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०८० मङ्सिर १ गते उजुरी दिनुभएको थियो । आरोपितले कुटपिट गदै पक्की घाटको पिलरमा ठोकिने गरी धक्का दिदा लडेर टाउकोमा चोट लागी घाइते रेश्मीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति साढे ११ बजे मृत्यु भएको थियो । शवको पोष्टमार्टम सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा मङ्सिर १ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनामा ०८० मङ्सिर १ गते उजुरी दर्ता भएको थियो । आरोपितविरुद्ध मङ्सिर १ गते पक्राउ पुर्जी जारी भएकोमा माघ २२ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा फागुन १६ गत अभियोग पत्र दायर भएकोमा न्यायाधीश उद्विर नेपालीको इजलासले फागुन १७ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।