INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नियमित रूपमा पाउँदै आएको सामाजिक सुरक्षा भत्ता यस वर्षको आर्थिक वर्षमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

प्यूठान नगरपालिकाले तीन/तीन महिनामा प्रदान गर्ने गरेको सामाजिक सुरक्षा भत्ता यस वर्षको आर्थिक वर्ष अन्तमा तीन महिनाको यही असारमा पाउनु पर्नेमा आफूहरूले नपाएको प्यूठान नगरपालिका-३ का ७७ वर्षीय जिवबहादुर कुवरले गुनासो गर्नुभयो । आफूहरूले सरकारले दिने सामाजिक सुरक्षा भत्ताले दैनिकी चलाउँदै आएकोमा अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी पाएपछि बैङ्कमा जाँदा आफूको रकम नआएको प्यूठान नगरपालिका-३ का ७४ वर्षीय भत्तबहादुर सुनारले बताउनु भयो ।

स्थानीय तहले कोही व्यक्तिको रकम बैङ्क खातामा जम्मा गरिदिएको र कोहीको नगरीदिएको प्यूठान नगरपालिका-३ का ज्येष्ठ नागरिक ७८ वर्षीया डिलादेवी खडकाले बताउनु भयो । सरकारले पहिले पहिले हिँड्न नसक्नेलाई घर घरमा आएर भत्ता वितरण गर्ने गरेकोमा अहिले घरबाट दुई घण्टा भन्दा बढीको पैदल यात्रा गरी भत्ता बुझ्न बैङ्कमा जानुपर्ने बाध्यता रहेको र त्यसमा पनि बैङ्कमा रकम जम्मा नगरर्नु स्थानीय तहको लापर्वाही भएको गुनासो गर्नुभयो ।

आफूहरूलाई भत्ता सहज तरिकाबाट स्थानीय तहले घरमा पुराइदिनु पर्नेमा नदिइ बैङ्कमा जम्मा गरिदिँदा भत्ता बुझ्नको लागि एक जनाको सहारा लिइ जानुपर्ने तथा बैङ्कहरूमा अपाङ्गमैत्री संरचना नहुँदा आफूहरूलाई ज्यादै कठिन भएको प्यूठान नगरपालिका-३ का दृष्टीबिहिन ३५ वर्षीय टङ्क विकले बताउनु भयो ।

सफ्टवरको समस्याको कारण सबै सामाजिक सुरक्षा भत्ता बैङ्कमा जानुपर्नेमा नगएको र प्यूठान नगरपालिकाका १० ओटै वडाहरूमा यो समस्या आएकोले धैरे जनाको रकम बैङ्कमा नगएकोले यसलाई समाधान गरी ०८१ साउन महिनामा यस पटक नआएको व्यत्तिहरूको सुरक्षा भत्ता बैङ्कमा जम्मा गर्ने वातावरण बनाउने प्यूठान नगरपालिका प्रवत्ता तथा प्यूठान नगरपालिका-३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो