INSEC Online

📅 २०८३ जेष्ठ २१

पठनपाठन प्रभावित भएकाे भन्दै विद्यार्थीद्वारा शिक्षकको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

दुई महिनादेखि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यामिक विद्यालयमा दरबन्दी भए पनि दुई महिनादेखि शिक्षकको व्यवस्था नभएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।

विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक नभएपछि शिक्षकको माग गर्दै असार २८ गते आफूहरू सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाइएको कक्षा १० मा अध्ययनरत छात्रा सोनिसा बोहराले बताउनुभयो ।

अन्य विषय पठनपाठन भएको धेरै समय बितिसक्दा पनि विज्ञान विषय हालसम्म पढाइ नभएका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको छात्रा बोहराले गुनासो गर्नुभयो । छात्रा बोहराले विद्यालयमा विज्ञान विषयको पढाइ दुई महिनादेखि हुन नसकेपछि गाउँपालिकामा शिक्षकको व्यवस्थाको पहलका लागि अनुरोध समेत गरेको बताउनुभयो ।

उहाँका अनुसार लामो समयसम्म शिक्षकको व्यवस्था नभएपछि गाउँपालिकामा ध्यानाकर्षण गराउने बाहेकको विकल्प नदेखिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना भइसकेको छ । तर दुई महिनादेखि विज्ञान विषयको शिक्षक भर्नाका लागि गाउँपालिकाले अनुदानको व्यवस्था पनि गरेको थियो ।

गाउँपालिकाको अनुदानमा विज्ञान र गणित शिक्षक राख्न बजेटको व्यवस्था गरे पनि हालसम्म विद्यालयले विज्ञापन गर्दा समेत कसैको पनि आवेदन नपरेको उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो ।

दुई पटक विज्ञापन गर्दा पनि शिक्षक अध्यापन अनुमति पत्र प्राप्त भएका कसैको पनि आवेदन नपरेकाले विज्ञान विषयको शिक्षक भर्ना गर्न नपाएका कारण दुई महिनादेखि पढाइ हुन नसकेको प्रधानाध्यापक रोकायाले स्वीकार गर्नुभयो ।

उहाँका अनुसार शिक्षक अनुमति पत्र प्राप्त गरेको बिएसी पढेको जिल्लामा नपाएकै कारण दुई पटक विज्ञापन गर्दा जिल्लाभित्र र बाहिरबाट आवेदन नपरेकाले समस्या देखिएको छ ।

गाउँपालिका अध्यक्ष विजय भण्डारीले आफ्नो कार्यकक्षमा पुगेका विद्यार्थीलाई सम्झाउँदै तत्कालका लागि अस्थायी शिक्षकको विकल्प गाउँपालिकाले गरिदिने प्रतिवद्धता जनाउनुभयो । विद्यार्थीको ध्यानाकर्षण पत्रमा प्रशासकीय अधिकृतलाई तोक लगाएर व्यवस्था गर्न निर्देशन समेत दिइ सकेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Photo20240713Humal

 

 

अन्य

भिडियो