जन्म भएदेखि १५ महिनाभित्रका बालबालिकाले पाउनु पर्ने बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा भएपछि धनकुटा, इलाम, खोटाङ र ओखलढुङ्गालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा ०८१ असार २५ गते घोषणा गरिएको हो । जिल्लालाई पूर्ण नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ । बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि जिल्ला सुनिश्चित देखिएपछि सरकारले पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरेको हो । यसअघि खोप अभियानबाट छुटेका बालबालिकाका लागि ०८१ वैशाख महिनामा पूर्णखोप अभियान चलाइएको थियो । सो अभियानमा जिल्लाभरिमा १६ जना बालबालिका खोप लगाउन छुटेको पाइएको थियो । ० देखि १५ महिनाका २ हजार ४ सय २१ र १६ देखि ५९ महिनाका ६ हजार ६ सय ९३ जना बालबालिकालाई खोप लगाइएको छ । यी सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताउनु भयो । जन्मभएदेखि १५ महिनाभित्रका बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा गर्नुपर्छ । यो अवधिमा खोप पूरा नगरेका ५९ महिनामुनिका सबै बालबालिका खोजेर खोपको डोज पुरा गरिएको घिमिरेले बताउनु भयो । जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिल्ला समन्वय प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य निर्देशनालय धनकुटा प्रमुख ज्ञानबहादुर बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईलगायतको सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लाको माई नगरपालिकालाई ०८१ असार २० गते ‘पूर्णखोप सुनिश्चित’ स्थानीय तह घोषणा गरिएको छ । मेयर खम्बासिंह लिम्बूले नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तहको घोषणा गर्नुभएको हो । सबै वडालाई पूर्णखोप सुनिश्चितताका आधारमा तथा वडा–वडाको खोप तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनु भयो । पूर्णखोप मापदण्ड र सूचकका आधारमा सबै सर्त पूरा गरी नगरपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो । स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइए प्रक्रियाअनुसार खोप दिने व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले पूर्णखोप सुनिश्चितताजस्तै अन्य स्वास्थ्य क्षेत्रमा अगाडि बढ्न र सफलता हासिल गर्न सकिन्छ भनेर लाग्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा ०८१ असार २५ गते घोषणा गरिएको हो । जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक तारा कार्कीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो । जिल्लाका आठ ओटा स्थानीय तहका ७५ ओटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कुल ४ हजार ७ सय ६२ जना बालबालिकाहरुले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप पाइसकेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले बताउनु भयो । जन्मदेखि १५ महिना उमेर समूहका १ हजार ९ सय ३७ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा गर्नुपर्छ । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको जिल्ला स्वास्थ्य प्रमुख कर्मचन्द्र राजवंशीको भनाइ छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा ०८१ असार १८ गते घोषणा गरिएको हो । जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष २०८०-०८१ मा पाँच वर्ष मुनिका ९ हजार ३ सय ३ जना बालबालिकालाई आवश्यक १३ ओटा खोप पुरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । केही मात्रामा खोप लगाउन छुटेका चार जना र सबै प्रकारका खोप लगाउन छुटेका १५ जना बालबालिका भेटिएका थिए । खोप लगाउन छुटेका सबै बालबालिकलाई खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईँले बताउनु भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दीगोपना जिल्ला घोषणा ०८१ असार २६ गते गरिएको छ । जिल्लाका १७ ओटै स्थानीय तहहरूले पूर्णखोप सुनिश्चिता तथा दीगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दीगोपना जिल्ला घोषणा गरिएको बताउनु भयो । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममा निशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोपहरू सबै बालबालिकाहरूलाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका २०७१ (संशोधन २०७७) बमोजिम खोज र खोपको नीति अनुसार सबै प्रक्रिया पुरा गरी मोरङ जिल्लाका सबै वडा र स्थानीय तहहरूबाट ०८० चैत २८ गते देखि ०८१ असार २४ गते सम्ममा पूर्णखोप सुनिश्चितता एवम् दीगोपना कायम गरेको पाइएकोले जिल्ला जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डाक्टर सुरेश मेहताले बताउनु भयो । बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाई बालमृत्यु दरमा कमि ल्याई दीगो विकास लक्ष्य हासिल गर्न तथा पोलियो उन्मूलन र दादुरा रुबेला रोग निवारण गर्ने विश्व र राष्ट्रिय लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण कार्य भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।