बागलुङ नगरपालिका– ३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले आफुलाई अपमानित गर्ने भिडियो बनाउने र धम्काउने गरेर दुर्व्यवहार गरेको भन्दै बागलुङ नगरपािलका– ३ निवासी निर्माण व्यवसायी हरि रुचाल विरुद्ध कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनु भएको छ ।
असार २३ गते दिउँसो वडा नं ३ को कार्यालयमा रहेको बेला रुचालले अनुमति बिना अपमानित गर्ने भिडियो बनाएको तथा धम्काएको भन्दै असार २४ गते प्रशासनमा उजुरी दिनु भएको हो ।
रुचालले खिचेको भिडियोको केही अंश फेसबुक वाल मार्फत सार्वजनिक गरी इज्जत प्रतिष्ठालाई ख्याल नगरी दुर्व्यवहार गरेको भन्दै भिडियो पोष्ट गर्ने व्यक्ति र भिडियो उपलब्ध गराउनेलाई साइबर क्राइम अन्तर्गत कारबाहीको माग गर्नु भएको छ ।
बागलुङ नगरपालिका– ३ छहरा पँधेरा स्थित चौलानी खोल्सामा २०८० साउन, भदौमा सम्पन्न गरिएको भनेको कामको करिव १० महिना पश्चात २०८१ असार २३ गते अनुगमन समितिको फारममा सहिछाप गर्न दवाब दिएको र आफुले पालिकाको नियम अनुसार उक्त योजनालाई स्थलगत अनुगमन गरी प्रतिवेदनमा सहि गर्छु भन्दा रुचालले दुर्व्यवहार गरेको बताउँदै शर्मा न्यायका लागि प्रशासन पुगेको बताउनुभयो ।
शर्माले दिएको उजुरी हेरेपछि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनु भएको छ ।
शर्माले कानुनी कारबाहीको माग गर्दै कार्यालयमा दिएको उजुरी आफुले अध्ययन गरेको र आवश्यक अनुसन्धान अगाडि बढाउन असार २४ गते नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ सुवेदीले बताउनु भयो ।
शर्माको उजुरी प्रमुख जिल्ला अधिकारीको तोक पश्चात आफनो कार्यालयमा प्राप्त भएको, यस विषयमा अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनु भयो ।