सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ घरधुरीका दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन् ।
असार २१ गते बिहान गाउँमा माथि वर्षासँगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा परिणत गरि गाउँ जोखिम बनेपछि ३५ घरधुरीका दलित परिवार करिब १ सय ७५ जना स्थानीय डर त्रासले बस्ने गरेका छन् ।
गत वर्ष पनि यही समयमा गाउँमाथिबाट बाढी आउदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थानबाट बाढी आएर जग्गा जमिन तहसनहस बनाएपछि दलित परिवारलाई उठीबासको अवस्था बनाएको छ ।
बाढी पहिरोको डरले हामी राती सुत्दैनौ रावलबाडा गाउँका ४७ वर्षीय जाड नेपालीले भन्नुभयो । वर्षा हुने बित्तिकै माथिबाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाइसक्यो । नेपालीले दु:खेसो पोख्दै भने ‘हामी दलित परिवारलाई बाढी पहिरोले तहसनहस बनाइ सक्यो ।’
राती बाढी आएपछि बगाउँछ भनेर रातभर गाउँले जम्मा भएर घरको छतमा जागराम बस्ने गरेको स्थानीय दानसिह नेपालीले बताउनु भयो । वर्षा सुरु भएपछि देवि देउता पुर्कादै घरमा बस्नु परेको बताउनुभयो । कोही ओढने ओछयान बोकेर गाउँ भन्दा ५ मिनेट पर प्राथमिक विद्यालयको भवनमा सुत्न जाने गरेको उहाँको भनाइ छ ।
बर्खा लागेपछि रावलबाडा गाउँको माथिबाट बाढी पहिरो आउने र गाउँको मुनितिरबाट पनि जमिन भासिदै जान थालेपछि ३५ दलित परिवारलाई आफनो ज्यानदेखि धनसम्पति जोगाउन सास्ती हुन थालेको छ । हुम्ला कर्णाली नदीले गाउँमुनिको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भासिदै जान थालेको छ ।
रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउँपालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताउनु भयो । अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन ।
बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्र स्थानमा सार्न अति जरुरी रहेको वडाअध्यक्ष मल्लले बताउनुभयो । रावलबाडा गाउका दलित परिवारले बस्ती अन्यत्र सार्नका लागि गाउँपालिका, कर्णाली प्रदेश र सङ्घीय सरकार सँग अनुरोध गरेपनि कार्यान्वयन नहुँदा चिन्तित छन ।
रावलबाडा गाउँ बाढीपहिरोको उच्च जोखिमम छ । बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । सोरु गाउँपालिका भरिका ५५ ओटा बस्ती मध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउँ बाढीपहिरोको जोखिममा रहेको छ । अन्यत्र सार्न अति आवश्यक देखिएको उहाँको भनाइ छ ।
पटक पटक स्थानीय सरकार र सरोकारवाला निकायसँग गुहार गरे तापनि अहिलेसम्म कुनै पनि सुनुवाइ नभएको स्थानीय चन्द्र नेपालीले बताउनु भयो ।
