INSEC Online

📅 २०८३ जेष्ठ २१

१ हजार ७ सय ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

बेनी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका १ हजार ७ सय भन्दा धेरै ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ रोगीहरुलाई घरमै पुगेर सेवा प्रदान गरेको छ ।

नगरपालिकाले थालेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम मार्फत उक्त संख्यामा सेवा दिएको हो । ७० वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिक समूहलाई लक्षित उक्त कार्यक्रम मार्फत घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्दा ज्येष्ठ नागरिकसँगै अन्य सर्वसाधारण पनि लाभान्वित भएका हुन् ।

नगरपालिकाले वडाको गाउँ, बस्ती र टोलमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न ज्येष्ठ नागरिकलाई लक्षित गरी सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी देखिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘नगर प्रमुखका रुपमा निर्वाचित भए पछि थालेको प्राथमिकताको काम थियो र यो प्रभावकारी पनि भएको छ ।’ यस्तो कार्यले नगरपालिकलाई स्वास्थ्य सेवा लिनकै लागि सदरमुकामसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै ज्येष्ठ नागरिकलाई निकै लाभ पुगेको उहाँको तर्क छ ।

स्थानीय तहको निर्वाचनबाट नगर प्रमुख केसीले आफू निर्वाचित भएपछि पदभार ग्रहण गर्ने क्रममा नै पहिलो निर्णय ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम घोषणाका लागि हस्ताक्षर गर्नुभएको थियो । बेनी नगरपालिकाको ८ ओटा वडामा उक्त कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भैरहेको बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।

१० ओटा वडा रहेको बेनी नगरपालिका क्षेत्रको ७ र ८ नम्बर वडा सदरमुकाम बेनी बजार क्षेत्रमा पर्ने भएकाले बेनी बजार बाहेक अन्य वडामा उक्त कार्यक्रम नियमित रुपमा सञ्चालन भैरहेको छ । प्रत्येक महिनाको एकपटक स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्तहरुको स्वास्थ्योपचार गर्ने गर्दछन् ।

घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको उद्देश्य रोग तथा स्वास्थ्य समस्याको समयमा नै पहिचान गरी ज्येष्ठ नागरिकको उपचारमा लाग्ने खर्च घटाउने, प्रत्येक महिना ज्येष्ठ नागरिकको स्वास्थ्यलाई निगरानी गरी हेल्थ प्रोफाइल तयार गर्ने, घरघरमा पुगेर ७० वर्षभन्दा माथिका र असक्त नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, निगरानी पछि आवश्यक औषधी दिने र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने रहेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ मा यस कार्यक्रम कार्यान्वयन गर्नका लागि कुल ८ लाख ८० हजार रुपियाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भैरहेको सुवेदीले बताउनुभयो । यस कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

बेनी नगरपालिकाले सुरु गरेको घरघरमा स्वास्थ्यकर्मी परिचालन कार्यक्रमको संघीय सरकारले समेत क्रेडीट लिएर अभियानका रुपमा अन्यत्र पनि लागु गर्ने प्रयास भएको नगर प्रमुख केसीको भनाई छ । यस कार्यक्रममा खासगरी सुगर तथा प्रेसरको चेकजाँच, दिर्घरोगीले नियमित रुपमा औषधी खाए, नखाएको तथा अन्य स्वास्थ्य समस्याहरुको बारेमा पनि जानकारी लिनेदिने गर्ने नगरपालिकाले जनाएको छ ा

photo2081321myagdi

photo3081321myagdi

Benapa House to House Health Worker (7)

अन्य

भिडियो