१५ वर्षीया बालिका सामुहिक बलात्कार गरेको घटनामा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने एक जना बालकले भने सफाई पाएका छन् ।
जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले ०८१ असार १८ गते सजाय निर्धारण गरी चार जनालाई कैद सजाय र एक जनालाई सफाई दिएको श्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।
किस्पाङ गाउँपालिकामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा किस्पाङ गायँपालिका–५ का १९ वर्षीय निर्मलकुमार तामाङलाई १४ वर्ष कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना, ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र २० हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गराउने फैसला भएको अदालतले जनाएको छ ।
यसै गरी १७ वर्षीय बालकलाई १० वर्ष कैद सजाय, ३ लाख ३० हजार रुपैयाँ जरिवाना, ३० हजार रुपैयाँ क्षतिपूर्ति र १३ हजार २ सय पीडित राहत कोषमा दाखिला गराउने फैसला भएको छ ।
साथै १५ र १६ वर्षीय दुई जना बालकलाई जनही सात वर्ष कैद सजाय, जनही २ लाख ५० हजार रुपैयाँ जरिवाना र जनही ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । सोही घटना संलग्नको आरोपित १३ वर्षीय एक बालकले भने सफाई पाएका छन् ।
१५ वर्षीया बालिकालाई ०८० वैशाख ३ गते स्थानीय सुकुटेखोलास्थित गोठमा सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते उजुरी दिएका थिए ।
आरोपितह्रूलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते त्रिशूली अस्पतालमा भयो । ०८० वैशाख २७ गते जिल्ला अदालतले १३ वर्षीया बालकलाई साधारण तारेखमा रिहा गर्न र बाँकी चार जनालाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएपछि निर्मलकुमार तामाङ जिल्ला कारागार र तीन जना बालकलाई बाल सुधार गृह भक्तपुरमा पठाइएको थियो ।