तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि फक्ताङलुङ गाउँपालिकामा तीन सातायता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी बिरामीलाई समस्या भएको छ ।
बाढीले पुल नै बगाएपछि फक्ताङलुङ गाउँपालिकामा भएर सदरमुकामसम्म चल्ने एम्बुलेन्सहित अरू यातायातका साधन तीन सातायता बन्द भएका छन् ।
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनको प्रभाव जिल्लामा जेठ ३० गते यतादेखि परेको छ । अविरल वर्षासँगै गएको बाढी र पहिरोले फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी काठेपुल बाढीले बगाएका कारण यातायात ठप्प भएको छ ।
वर्षाका कारण तमोर नदीको छिरूवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा ठप्प भएको हो । तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुई ओटा काठेपुल बाढीले बगाएको छ ।
बाढीले पुल बगाएपछि एम्बुलेन्ससहित अन्य सवारीसाधन नचल्दा गाउँपालिकामा खाद्यान्न, औषधीलगायतका सामग्रीको अभाव हुन थालेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो ।
बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण जेठ अन्तिम सातादेखि यातायात सेवा अवरुद्ध हुँदा एम्बुलेन्स नचल्दा बिरामीले सास्ती पाएको अध्यक्ष लिम्बूले बताउनु भयो ।
पुल निर्माण र पहिरोले पुरिएको बाटो पन्छाउन पहल गरीदिन सम्बन्धित निकायमा जानकारी गराएपनि जिम्मेवार निकायले वास्तै नगरेको अध्यक्ष लिम्बूको भनाइ छ । अध्यक्ष लिम्बूले भन्नुभयो,“फक्ताङ्लुङ गाउँपालिका जोड्ने बाटोहरु बाढी पहिरोले तीन हप्तादेखि बन्द छ्न, धेरै पटक सम्बन्धित निकायहरुमा फोन गरेको छु तर कामले गति लिएको छैन ।”
बाढीपहिरोका कारण यातायात बन्द भएपछि खाद्यान्न सकिएको, औषधी उपचारका लागि एम्बुलेन्स चल्न नसक्दा गाउँपालिकावासी समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूको भनाइ छ ।
बाढी र पहिरोको समस्या झेलिरहका फक्ताङलुङबासी टेलिफोन सेवा समेत अवरुद्ध हुँदा सञ्चार सेवाबाट समेत बञ्चित हुनु परेको छ ।
