सन् २०२४ को सुरुको ६ महिनाको अवधिमा सप्तरीमा महिला बलात्कारका दुई, वैवाहिक बलात्कारको एक, बलात्कार प्रयासको एक, यौन दुर्व्यवहारको दुई र मानव बेचबिखनको एक ओटा घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारको दुई घटनाका दुई आरोपित तत्कालै गिरफ्तार भई हाल पुर्पक्षका लागि कारागारमा थुनामा छन् । पहिलो घटनामा ५२ वर्षीया महिलालाई २०८० पुस २९ गते बोदे बर्साइन नगरपालिका-९ महनौरीका ३६ वर्षीय युवकले बलात्कार गरेको भन्दै माघ १ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी परेको थियो । आरोपित माघ २ गते गिरफ्तार भएका थिए । जिल्ला न्यायाधीश उदबीर नेपालीको इजलासबाट माघ २८ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
त्यस्तै अर्को घटनामा ४१ वर्षीया महिलालाई २०८१ जेठ १९ गते डाक्नेश्वरी नगरपालिका-१० का ४० वर्षीय युवकले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जेठ १९ गते नै उजुरी परेको थियो । आरोपित जेठ १९ गते नै गिरफ्तार भएका थिए । गिरफ्तार आरोपित जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासबाट असार १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
सन २०२२ मा बलात्कारका ७ घटनामा १८ माथि ४० वर्षसम्मका सात जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । उक्त घटनामा १९ देखि ४५ वर्षका १० जना आरोपित थिए । यस्तै सन २०२३ मा २१ घटनामा १८ देखि ५५ वर्षका महिला पीडित र १७ देखि ६० वर्षका २४ जना पुरुष आरोपित थिए । इलाका प्रहरी कार्यालय कञ्चनरूपको हिरासतमा बलात्कार भएको भनी प्रहरी अधिकृतसहित दुई जनाविरुद्ध परेको उजुरी प्रहरीले भ्रमपूर्ण उजुरी भदौ ३१ गते तामेलीमा राखेको छ । गत वर्ष कञ्चनरूप नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदे बर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा महादेवा गाउँपालिका, रूपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र बलान बिहुल गाउँपालिकामा बलात्कारको घटना भएको थियो ।
यस्तै यो वर्षको जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा एउटा वैवाहिक बलात्कारको घटना भएको भन्दै २१ वर्षीया महिलाले दिएको उजुरीमा चैत १४ गते उनका २८ वर्षीय पति गिरफ्तार भए । जिल्ला न्यायाधीश नविनकुमार जोशीको आदेशमा वैशाख ६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
बलात्कार प्रयासको एक घटनामा १९ वर्षीया पीडितले दिएको उजुरीमा जेठ ६ गते विष्णुपुर गाउँपालिका-७ का २१ वर्षीय युवक गिरफ्तार भए । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट जेठ २८ गते आरोपित पुर्पक्षका लागि धरौटी राखेर तारेखमा रिहा भए ।
यो वर्षको ६ महिनामा यौन दुर्व्यवहारको दुई घटना दर्ता भएको देखिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले कारबाही नगरेको भन्दै ३५ वर्षीया महिलाले ५५ वर्षीय ससुराविरुद्ध दिएको यौन दुर्व्यवहारको उजुरी जिल्ला अदालतमा जेठ २३ गते दर्ता भएको अदालतको तथ्यांकले देखाएको छ । आरोपित ससुराले २०८० चैत ५ गते यौन प्रस्ताव राखेर सँगै सुत्ने प्रयास गरेको पीडित एकल महिलाले बताउनु भएको छ ।
अर्को एक घटनामा महादेवा गाउँपालिका-१ चिम्टीमा सञ्चालित स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) मा कार्यरत २८ र ४२ वर्षीया मनोविमर्शकर्ता र २५ वर्षीया सहयोगी कर्मचारीलाई २०८१ असार ९ गते मध्यराति सोही ठाउँस्थित सरदार टोलका २१, २५, २५ र २६ वर्षीय युवकले अश्लिल भाषा प्रयोग गरी ढोका खोल्न दवाव दिई मौखिक यौनजन्य दुर्व्यवहार गर्दै इच्छाविरुद्धको यौनजन्य प्रस्तावहरू राखेको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि असार १४ गते उजुरी दिनुभएको छ । उक्त उजुरी असार १६ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका आरोपितहरू गिरफ्तार भएका छैनन् ।
मानव बेचविखनको आरोपमा ४० वर्षीया महिला जेठ २८ गते गिरफ्तार भएकी छिन् । राजविराज नगरपालिका-८ स्थित लक्ष्मी गेस्ट हाउसमा १८, २८, ३०, ३५ र ३५ वर्षीया ५ महिलालाई वेश्यावृतिमा लगाई आर्थिक लाभ लिइरहेको आरोपमा गिरफ्तार उनलाई
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान र कारबाही प्रकृया अगाडि बढेको छ ।