INSEC Online

📅 २०८३ जेष्ठ २१

पाल्पामा रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन सास्ती

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन बिरामीलाई सास्ती हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा टिकट लिन र रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता छ ।

गरिब तथा विपन्न नागरिकहरूले सहज रूपमा औषधि उपचार सेवा पाउन सकुन् भन्ने हेतुले आएको स्वास्थ्य बिमा कार्यक्रमको सहज सञ्चालन हुन सकेको छैन । पाल्पाका दुई ओटा ठूला नीजि अस्पतालमध्ये लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । यो अस्पतालमा उपचार गराउन आउनु अघि जिल्ला अस्पतालमा गई रेफर पत्र अनिवार्य रूपमा बिरामीले बनाउनुपर्छ । रेफर कागज बनाउनका लागि समस्या झेल्दै आएको बगनासकाली गाउँपालिका–३, नायरनमतलेसका श्यामबहादुर कनौजेले बताउनु भयो । बिरामी उपचार गराउन सिधै सम्बन्धित अस्पताल जानुपर्नेमा रेफर बनाउनकै लागि अर्को अस्पताल पुग्नु पर्ने अवस्थाले बिरामीलाई झनै सास्ती भएको उहाँले बताउनु भयो ।

पाल्पाका अस्पतालका स्टार्फ नर्स सूचना अधिकारी प्रतिमा पाठकले पाल्पा अस्पतालमा दैनिक ४ सयदेखि ६ सय जनासम्म बिरामी आउने गरेको बताउनु भयो । जसमध्ये २ सय जनासम्म रेफर कागज बनाउन आउने गरेको उहाँको भनाइ छ । पाल्पा अस्पतालमा उपचार सम्भव भएका बिरामीको उपचार सोही अस्पतालमा हुने सम्भव नभएका बिरामीलाई मात्र रेफर गर्ने गरिएको उहाँले बताउनु भयो । अस्पतालमा टिकट, बिरामी जाँच, रिपोर्ट उपलब्ध गराउने र रेफर दिने लागयतका कार्य छिटो छरितो रूपमा गर्ने कोशिस गरिए पनि आवश्यकता भन्दा कम जनशक्ति भएका कारण समस्या भएको उहाँले बताउनु भयो । टिकटका लागि टोकन लागु गरिएको र पालो आएपछि बिरामीले चेकजाँच गराउन पाउने भएकोले बिरामी लाइनमा उभिनुपर्ने समस्या केही हदसम्म भए पनि समाधान भएको पाठकले बताउनु भयो ।

पाल्पा अस्पतालमा १८ जना डाक्टर दरबन्दी रहेकोमा स्थायी एक जना कार्यरत छन् । छात्रवृत्ति करारमा सात जना डाक्टर कार्यरत छन् । १० जना डाक्टरको दरबन्दी रिक्त छ । हेल्थ असिस्टेन्ट एक जनाको दरबन्दी रहेकोमा उनी पनि २० दिनदेखि काजमा अञ्चल अस्पताल बुटवल गएका छन् । त्यस्तै अहेव दुई जनाको दरबन्दी रहेकोमा दुई जना कार्यरत छन् ।

नेपालमै पाल्पाबाटै पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको थियो । यो कार्यक्रम अन्तर्गत एउटा परिवारमा पाँच जनाको एकमुष्ट ३ हजार ५ सय रुपियाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रुपियाँ बराबरको उपचार निःशुल्क पाउने व्यवस्था रहेको छ । त्यस्तै पाँच जनाभन्दा बढी व्यक्ति भएको परिवारले पाँच जनाभन्दा माथि प्रति व्यक्ति ७ सय रुपियाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजारको उपचार सुविधा पाउने कार्यक्रम रहेको स्वास्थ्य बिमा बोर्ड, पाल्पाका दर्ता अधिकारी अर्जुन पौडेलले बताउनु भयो ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम मार्फत २ लाख ४० हजार ४ सय ५० जनाले सेवा लिएका छन् । त्यस्तै १२ हजार ७ सय ६० जनाले ज्येष्ठ नागरिक सेवा लिँदै आएको पौडेलले बताउनु भयो ।

Photo30062024Palpa

Photo30062024Palpa1

अन्य

भिडियो