नवलपरासी पूर्व (नवलपुरमा) आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३ सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । आत्महत्या गर्नेमा पुरुषको संख्या बढी देखिएको छ ।
तीन वर्षको अवधीमा १ सय ६० जना पुरुषले आत्महत्या गरेका छन् भने यस अवधीमा महिलाको संख्या १ सय ५ जना रहेको छ । पछिल्लो तीन वर्षमा २३ जना बालक र १९ जना बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७८ /०७९ मा महिला ३५, पुरुष ६५, बालक आठ र बालिका आठ गरि १ सय १६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा महिला ४१, पुरुष ४८, बालक ६ बालिका सात गरी १ सय २ जना र चालु आर्थिक वर्षको अहिलेसम्म महिला २९, पुरुष ४७, बालक नौ, बालिका चार गरेर ८९ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक रेग्मीले जिल्लामा पछिल्लो समय आर्थिक समस्याका कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । कोभिड पछिको बढ्दो आर्थिक सङ्कट तथा मिटर ब्याज, सहकारीको ठगी जस्ता आर्थिक कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । बालबालिका र किशोरकिशोरीहरुमा बढ्दो सामाजिक सञ्जालको प्रयोगले आत्महत्या बढ्दो पाइएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालबाट चिनजान भएकै भरमा प्रेममा फस्ने, तस्विर सेयर गर्ने र पछि तीनै तस्विरबाट ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्ती नवलपुरमा समेत बढ्दै गएको उहाँले बताउनुभयो । त्यस्ता घटनाको सामना गर्न नसक्नेले आत्महत्याको बाटो रोज्ने गरेको उहाँले बताउनुभयो । अर्कोतर्फ अनलाइन वेटिंग पनि आत्महत्याको कारण बनेको उहाँले बताउनुभयो । आत्महत्या गर्ने दोश्रो कारणका रुपमा पारिवारिक कारण देखिएको उहाँको भनाई छ । पारिवारिक कलह बेमेल जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । अन्य कारणमा मादक पदार्थ सेवन, प्रेम सम्बन्ध, शारीरिक कारण रहेको उहाँको भनाइ छ ।
जिल्लामा आत्महत्याको स्थिति डरलाग्दो देखिएपछि अहिले सामाजिक विकास कार्यालयले यसको रोकथाम र न्यूनिकरण गर्न सचेतनाको कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा आत्महत्या बढी देखिएको पालिका गैडाकोट र देवचुलीबाट कार्यक्रम सुरु गरिएको छ । आत्महत्या रोकथाम गर्न जनप्रतिनिधि तथा सरोकारवालालाई रोकथामका उपाय जानकारी गराउने र ती उपायहरु उनीहरु मार्फत घरपरिवार र समुदायमा समेत जानकारी गराएर आत्महत्या विरुद्ध सचेतना जगाउने उदेश्यले सामाजिक विकास कार्यालयले सचेतनाको कार्यक्रम सुरु गरेको कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
चितवन मेडिकल कलेजका सहप्राध्यापक एवम् मनोपरामर्श डाक्टर समेत रहनुभएका खगेन्द्र काफ्लेले आत्महत्या गर्ने मनसाय बनाएको व्यक्तिको व्यवहार बोलीचाली र हाउभाउबाट उसले भन्न खोजीरहेको हुने हुँदा नजिकका घरपरिवार र साथीहरूले ख्याल गर्न सकेमा आत्महत्या रोकथाम गर्न सकिने बताउनुहुन्छ । मानसिक रुपमा विचलित भएको समयमा वा कुनै पनि समस्यामा परेको बेलामा त्यस्ता व्यक्तिको कुरा सुनिदिनु नै आत्महत्या रोकथामको राम्रो उपाय रहेको डाक्टर काफ्लेले बताउनुभयो ।
सर्वप्रथम जोखिममा भएका व्यक्तिहरूको पहिचान गर्न सकियो भने आत्महत्या रोकथाम गर्न सकिने डाक्टर काफ्लेले बताउनुभयो । विगतमा पनि आत्महत्याको प्रयास गरेका, पारिवारिक इतिहास भएका, बारम्बार आत्महत्याको कुरा गर्ने, हीनताबोध, हरेस, निराश र आत्मग्लानि गर्ने, हालसालमा ठूलो घटना घटेका परिवार, दीर्घ मानसिक रोगका बिरामी, उपचार निरन्तर नभएको तथा विभिन्न दीर्घ रोग लागेको, दुव्र्यसनमा फसेका, एक्लोपन भएका यस्ता व्यक्तिहरू आत्महत्याको जोखिममा भएका व्यक्तिहरू हुने डाक्टर काफ्लेले बताउनुभयो ।