घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
घोराही सिमेन्ट उद्योगको गेटमै पुगेर ०८१ असार १५ गते स्थानीयले न्यूनतम पारिश्रमिकको माग गरेका छन् । सिमेन्ट उद्योगले न्यूनतम पारिश्रमिकसँगै मेनपावर सप्लायर्सहरूलाई थप १० प्रतिशत कमिसन दिँदा पनि सप्लायर्सहरूले स्थानीय श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक नदिएर १० वर्षदेखि ठगी गरेको उनीहरूको आरोप छ ।
घोराही सिमेन्टले केही जिल्ला बाहिर, धेरै भारतबाट र केही स्थानीयलाई रोजगार दिएको छ । तर बाहिरबाट ल्याइएका श्रमिकलाई सिधै तलव दिएर राखेको र स्थानीयलाई विभिन्न चार ओटा सप्लायर्सको माध्यमबाट रोजगारीमा लगाइएको छ । सप्लायर्स कम्पनीले सिमेन्ट उद्योगबाट सरकारी तलव लिएर स्थानीय श्रमिकलाई घटाएर दिने गरेको सङ्घर्ष समितिका संयोजक खेमराज भण्डारीले जानकारी दिनुभयो ।
सप्लायर्सहरूले एक जना श्रमिकको तलव सिमेन्ट उद्योगबाट दैनिक ६ सय ६८ को दरले लिएर श्रमिकलाई ५ सय रुपियाँ दिने गरेको पाइएको छ । श्रमिक उपलब्ध गराए वापत सप्लायर्सले उद्योगसँग १० प्रतिशत सेवा शुल्क पनि लिइरहेको छ । वर्षौँदेखि सप्लायर्सले श्रमिक ठगेको भन्दै स्थानीयवासीहरूले आन्दोलन थालेका हुन् । सुरुमा ज्ञापन पत्र दिएर पछि श्रम र गृह मन्त्रालयमा उजुरी समेत दिएका उनीहरूले सुनुवाई नभएको भन्दै प्रदर्शनमा उत्रिएको जनाएका छन् । ‘श्रमिक नै आन्दोलनमा उत्रिँदा कामबाट निकालिदिने धम्की आइरहेको छ । श्रमिक ठगीएको खबरपछि हामी स्थानीयले उहाँहरूको न्यायका लागि आन्दोलनमा उत्रिएका छौ’, सङ्घर्ष समितिका संयोजक भण्डारीले भन्नुभयो ।
घोराही सिमेन्टलाई स्थानीय श्रमिक उपलब्ध गराउने काम यादव अधिकारीले सञ्चालन गरेको अज ट्रान्सपोर्ट प्रालि, श्रीप्रसाद पण्डीतले सञ्चालन गरेको ड्यूरेवल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सुरेश सुवेदी सञ्चालक रहेको एसजी एसएस मल्टिग्रुप कम्पनी र खिम डिसी सञ्चालक रहेको काष्ट कम्पनी एण्ड सप्लायर्स प्रालिले गरिरहेका छन् ।
यीमध्ये अहिले एसजी र ड्यूरेवलले श्रमिक सप्लायर्सको काम गरिरहेका छन् । सङ्घर्ष समितिले १० वर्षदेखि श्रमिक ठग्ने काम गरेको भन्दै झण्डै २५ देखि ३० करोडको ठगी गरिएको दावी गरेको छ । उनीहरूलाई ठगीएको रकम र आगामी दिनमा सरकारले तोकेकै न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गरिएको छ । घोराही सिमेन्ट कारखानामा अहिले वाचम्यान, हेल्परलगायतको पदमा करिव ३ सय श्रमिक कार्यरत रहेको र उनीहरू ठगीमा परेको सङ्घर्ष समितिले जनाएको छ ।
