INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा ३८ हजार ३ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण, १८ जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढेपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

डेङ्गीको सङ्क्रमण वर्षापछि र गर्मीका समयमा बढी हुने भएकाले मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । कोशी प्रदेशमा यस आर्थिक वर्षको ०८१ असार १२ गतेसम्ममा ३८ हजार ३ सय ७५ जनामा  डेङ्गीको सङ्क्रमण देखिएको छ ।

प्रतिकात्मक तस्विर
प्रतिकात्मक तस्विर

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार कोशी प्रदेशका अन्य जिल्लाको तुलनामा जिल्लामा डेङ्गीको सङ्क्रण कम देखिएको छ । जिल्लामा ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । हिमाली जिल्लामासमेत डेङ्गीका रोगी देखिएका कारण उच्च सर्तकता अपनाउनका लागि लामखुट्टे र लार्भा नियन्त्रण अभियान स्थानीय तहहरूले चलाउने तयारी गरेका छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा ५२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चिसो ठाउँमा समेत डेङ्गीको सङ्क्रमण देखिएपछि प्रदेश स्वास्थ्य निर्देशनालयसँग आवश्यक डेङ्गी नियन्त्रण किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका सोलुदूधकुण्ड नगरपालिका, सोताङ गाउँपालिका, नेचासल्यान गाउँपालिका र थुलुङदूधकोशी गाउँपालिकामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ०८१ असार १२ गतेसम्ममा १ सय २२ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगी परिक्षण गरिन्छ । जिल्लाका केही स्थानीय तहसँग समन्वय गरेर लामखुट्टे ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाइने स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगी विशेष प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भएकाले सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण उच्च देखिएको छ । डेङ्गीका रोगी बढी भएका कारण जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लामा हालसम्म १ हजार ७ सय ८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट अभियानको तयारी स्थानीय तहले गरेका छन् । जिल्ला अस्पताल संखुवासभामा दैनिक रुपमा डेङ्गी सङ्क्रमितका बिरामी बढ्दै गएका कारण बेड समेत अभाव हुने देखिएको छ । जिल्लामा तीव्र रुपमा डेङ्गी सङ्क्रमित बढेका छन् । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ । डेङ्गी रोकथाम र सचेतना अभियान लार्भा खोज, नष्ट तीन महिने अभियान नेपाल रेडक्रस सोसाइटीलगायतले गरिरहेका छन् ।

खोटाङ प्रतिनिधि तारानाथ फुयालका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण बढेर गएको छ । हाल जिल्लामा ९२ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गी नियन्त्रणका लागि प्रदेश स्वास्थ्य निर्देशनालयबाट लामखुट्टे र लार्भा नियन्त्रणका लागि परिपत्र आएकाले स्थानीय तहले सोही अनुसार योजना बनाएर लामखुट्टे नियन्त्रण अभियान थालेका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा लामखुट्टे नियन्त्रणका लागि स्थानीय तहहरूले प्रतिकार्य योजना बनाएर लामखुट्टे नियन्त्रण कार्य थालेका छन् । जिल्लामा ०८१ असार १२ गतेसम्ममा ५ सय ९३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गर्मी र बर्खाको समयमा लामखुट्टे बढी फैलिने भएकाले विशेष गरी लामुखट्टे र लार्भा नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य निर्देशनालयबाट परिपत्र भएको जिल्लाका स्थानीय तहले जनाएका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८१ असार १२ गतेसम्ममा २ सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले लामुखट्टे र लार्भा नियन्त्रणका लागि स्थानीय तहमा परिपत्र गरिएको जानकारी दिएको छ । जिल्लाका स्थानीय तहले डेङ्गी नियन्त्रणका लागि लामखुट्टे र लार्भा नियन्त्रणका लागि योजना बनाएका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । हाल सहज र सरल रूपमा परीक्षण भइरहेको साथै महामारीको अवस्था नआएको धनकुटा, अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अमिताभ ठाकुरले बताउनु भयो । उहाँले टेष्टकिट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको रहेको र अहिलेसम्म अवस्था सहज रहेको बताउनु भयो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको र त्यसका लागि आवश्यक योजना बनाएको बताउनु भयो । उहाँले आवश्यक परेमा लार्भा नष्ट गर्ने अभियान चलाउने बताउनु भयो । जिल्लामा ०८१ असार १२ गतेसम्ममा ७ सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा ९ सय ६० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । वर्षासँग बढेको गर्मीका कारण जिल्लामा डेङ्गी सङ्क्रण बढ्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेङ्गी नियन्त्रणका लागि लामखुट्टे र लार्भा नियन्त्रण अभियान चलाउने तयारी स्थानीय तहले गरेका छन् ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा ६ सय ३५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ०८१ असार १२ गतेसम्ममा झण्डै ७ सय जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुलीगाउँपालिका,देउमाई नगरपालिकाका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिकामा सङ्क्रमण पुष्टि भएको छ । इलाम अस्पतालका डाक्टर प्रभु शाहका अनुसार, ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरिरमा रातो विमिरा आउनु, वान्ता हुनु,वाकवाकी लाग्नु नै संकमणका प्रमुख लक्षण भएकाले लामखुट्टेको टोकाईबाट बच्नसके डेङ्गीबाट जोगिन सकिन्छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा डेङ्गीका कारण ०८१ असार १२ गतेसम्ममा पाँच जनाले ज्यान गुमाएका छन् । जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय १८ पुगेको छ । डेङ्गी नियन्त्रणका लागि जिल्लाका १५ ओटा स्थानीय तहले लामखुट्टे र लार्भा नियन्त्रण अभियान थालेका छन् । कोशी स्वास्थ्य निर्देशनालय, धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीले जिल्लामा डेङ्गीको सङ्क्रमण उच्च देखिकाले नियन्त्रणका लागि लामुखट्टे र लार्भा नियन्त्रणका लागि स्थानीय तहलाई परिपत्र गरिएको बताउनु भयो । निर्देशनालयको पत्र पाएदेखि जिल्लाका १५ ओटा स्थानीय तहले लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेका छन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ०८१ असार १२ गतेसम्ममा डेङ्गीका ६ हजार ८ सय ६ जना बिरामी फेला परेका छन् । अत्यधिक गर्मीका कारण जिल्लामा डेङ्गीका सङ्क्रमित बढेको कोशी अस्पताल, विराटनगरले जनाएको छ । डेङ्गी नियन्त्रणका लागि जिल्लामा स्थानीय तहहरूले लामखुट्टे नियन्त्रण अभियानको तयारी गरेका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीलाई तालिम र आवश्यक निर्देशन दिएर डेङ्गी नियन्त्रण कार्यमा खटाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा ०८१ असार १२ गतेसम्म डेङ्गीका कारण १३ जनाको मृत्यु भएको छ । २० हजार ९९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी सङ्क्रमणको जोखिम उच्च भएपछि रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका सम्बन्धित १२ ओटै स्थानीय तह र सरकारी निकायले सावधानी, खोज र लार्भा नष्ट गर अभियान थालेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा ०८१ असार १२ गतेसम्ममा १ हजार ३ सय ६३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयले लामखुट्टे नष्ट अभियान सञ्चालन गर्न परिपत्र गरेपछि जिल्लाका स्थानीय सरकार लामखुट्टे र लार्भा नियन्त्रण कार्यमा खटिएका छन् ।

नेपालले आधिकारिक रूपमा २०६३ मंसिरमा डेंङ्गी देखिएको जनाएको थियो । डेंङ्गी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंङ्गी संक्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सल्लाह दिने गरेका छन् ।

अन्य

भिडियो