INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा जन्मकैद

शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीलाई हत्या गरेको कसुरमा उनका पति ३७ वर्षीय इन्द्रदेव चौधरीलाई ०८१ असार ११ गते जन्मकैदको सजाय भएको छ ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले आरोपितलाई कसुर गरेको ठहर गर्दै जन्मकैदका साथै मृतकका हकवालालाई २ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ तिर्नुपर्ने फैसला गरेको अदालतले जनाएको छ ।

आरोपितले ०८० असार १९ गते हत्या गरेको भन्दै मृतकका बुबा सुरुंङ्गा नगरपालिका-५ का ५२ वर्षीय श्रीनारायण चौधरीले ०८० असार २० गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो । घरायसी विवादमा झोलामा प्रयोग हुने फित्ताले घाँटी बाँधी थिचेर हत्या गरेको मृतकका बुबाको आरोप छ । खाना खाएर कोठामा सुतेकी पीडित असार १९ गते दिउँसो १२ बजे बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयवासीले थाहा पाई तत्कालै उपचारका लागि अस्पताल लगेका थिए । पीडितको शम्भुनाथ नगरपालिका-६ कठौनास्थित कृष्ण अस्पतालमा असार १९ गते मृत्यु भयो ।

शवको राजविराज नगरपालिका-४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २० गते पोष्टमार्टम भयो । प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले आरोपितलाई असार १९ गते नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले असार २१ गते उजुरी दर्ता गर्‍यो । जिल्ला अदालतमा साउन १४ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासबाट आरोपित साउन १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो