INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा मनसुन सक्रियताको दुई साता: २४ जनाको मृत्यु, २ सय बढी परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको दुई साताको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ । बाढीपहिरोका कारण २ सय २५ परिवार विस्थापित हुनु परेको छ । गएका वर्षहरूमा जुन १३ मा सक्रिय हुने मनसुन यस वर्ष जुन १० अर्थात् २०८१ जेठ २८ गतेदेखि सक्रिय भएको छ ।

कोशी प्रदेशका मोरङ, ताप्लेजुङ, झापा, सङ्खुवासभा, इलाम, सुनसरी, ओखलढुङ्गा, पाँचथर र ताप्लेजुङमा मनसुनपछिको बाढी र पहिरोका कारण प्रभावित भएका छन् । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ । विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ ।

मनसुन सक्रिय भएपछिको अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्याका कारण २४ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । १७ जनाभन्दा बढी घाइते र दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी सुमनकुमार तिमल्सिनाले बताउनु भयो ।

मोरङमा ६, ताप्लेजुङमा पाँच, झापा र सङ्खुवासभामा चार र चार, इलाम र सुनसरीमा दुई र दुई, र ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको प्रहरीको तथ्याङ्क छ । बाढीपहिरोका कारण ताप्लेजुङमा ७५, मोरङमा ६८, सङ्खुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित हुनु परेको छ ।

विस्थापित भएकालाई उद्दार गरेर सुरक्षित स्थान विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी बासस्थानको व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ ओटा घरमा पूर्ण र ४२ ओटा घरमा आंशिक क्षति पुगेको छ ।

कोशीमा बाढीपहिरो तथा डुबानका घटनामा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्दारको व्यवस्था गर्नुपर्ने आँकलन गरिएको छ । मनसुनजन्य प्रकोपको विश्लेषण गर्दै क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पास गरेर कार्यान्वयनमा लगिसकेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताउनु भयो ।

विराटनगर महानगरपालिका क्षेत्रमा ढुवानमा परेकाहरुलाई उद्दारको तयारी गर्दै नेपाल प्रहरी
विराटनगर महानगरपालिका क्षेत्रमा ढुवानमा परेकाहरुलाई उद्दारको तयारी गर्दै नेपाल प्रहरी

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार ०८१ असार १२ गते विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा ३६१ मिलिमिटर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । अधिक वर्षापछि बाढीले रङ्गेली नगरपालिका-४ मा घाँगी खोलाले बगाउँदा ४५ वर्षीय नागेन मण्डलको असार १२ गते मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले असार १२ गते खोला तर्न खोज्दा नागेनलाई खोलाले बगाएर मृत्यु भएको हो । रतुवामाई नगरपालिका-५ का नुर मोहमदका दुई वर्षीय छोरा मोहमद मुसाहाको घरनजिक जमेको पानीमा डुबेर असार १२ गते मृत्यु भएको छ । मोरङ र सुनसरीको सिमाना भएर बग्ने बुढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका-५ खोक्साका दुई जना बेपत्ता भएका छन् । बाढीले २४ वर्षीया फूला चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बेपत्ता बनाएको छ । माहिली फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरी इटहरी उपमहानगरपालिका-४ स्थित गैरीगाउँमा मृत फेला परेकी थिइन् । केराबारी गाउँपालिका–४ को गोगुने खोलाले बगाउँदा ११ वर्षीय श्याम राईको असार ११ गते मृत्यु भएको थियो । विद्यालय जाने क्रममा खोलाले बगाएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा पहिरोले घर पुरिँदा असार १२ गते एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षासँगैको पहिरोले चिसंखुगढी गाउँपालिका-५ थुम्कीमा घर भत्काउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देवकुमारीका पति ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार मेचीनगर नगरपालिका-१४ नमुना टोलका बामरा सतारका २० महिने छोरा रिहान सतारको असार ११ गते खोलाले बगाएर मृत्यु भएको छ । खेल्ने क्रममा फूलबासा खोलामा खसेका बालकको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । मनसुनजन्य विपद्को घटना चट्याङले लागेर असार ११ गते दुई जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-६ का ४६ वर्र्षीय राजन खड्का र गौरादह नगरपालिका-८ का ४२ वर्र्षीय विकास गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार याङवरक गाउँपालिकामा बाढीपहिरोले ९० घरपरिवार विस्थापित भएका छन् । गाउँपालिकाको-१ च्याङथापु, २ फलैचा, ३ ओयामका ९० घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । असार २ गतेको बाढीपहिराले ९० परिवार विस्थापित भएपछि असार ९ गते जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गरेको छ । समितिका फोकल पर्सन जीवन अधिकारीले असार ७ गतेबाट चार ओटा स्काभेटरले सडक खोल्ने काम थालेको र सडक खुलेपछि राहत र उद्दारका काम गरिने बताउनु भयो ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार मनसुनी वर्षा सुरू भएको जेठ २७ गतेपछि जिल्लामा ८१ घरका ३ सय ८४ जना विस्थापित भएका छन् । बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । पहिरोमा परी फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका जसमाया लिम्बू उहाँका दुई छोरी गंगा र जमुना गरी तीन महिला, रामवहादुर साम्रा र पाँचथर फिदिम नगरपालिका-१४ घरभएका सविन राई गरी दुई पुरुषको मृत्यु भएको छ । पहिरोबाट सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका मानिसहरु विस्थापित भएका छन् । पहिरोले ८ वटा घरमा पूर्ण क्षति गरेको छ । १७ जना महिला र १८ जना पुरुष गरी ३५ जना पूर्ण विस्थापित भएका छन् । १८ ओटा घर पहिरोको पूर्ण जोखिममा छन् । ५५ ओटा घर पहिरोको जोखिममा छन् ।

 सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार बाढीपहिरोले जिल्लामा प्राकृतिक विपद्का घटना बढेको छ । चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जना मजदूरको मृत्यु भएको छ । पहिरोमा पुरिएर थप दुई जना मजदूर घाइते भएका छन् । बाढीपहिरोमा परी भोटखोला-४ स्थित स्याक्सिलागोला आधारभूत स्वास्थ्य चौकी र भोटखोला-४ मा निर्माणाधीन पाँच शैयाको आधारभूत अस्पतालमा क्षति पुगेको छ ।

कोशी प्रदेश सरकारले ‘एकाघरको दुई जनासम्मको मृत्यु भएमा प्रतिव्यक्ति १ र १ लाखका दरले र दुई जनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति ५० हजार रूपैयाँका लागि दरले राहत रकम दिने भएको छ । ताप्लेजुङका पीडित परिवारलाई ३ लाख रुपियाँ राहत कोशी प्रदेश सरकारले दिएको छ । घर पूर्ण क्षति भएमा ५० हजार, आंशिक क्षति भएमा ३० र सामान्य क्षति भएमा १५ हजार रूपैयाँका दरले राहत रकम दिइने कोशी प्रदेश सरकारले जनाएको छ ।

अन्य

भिडियो