INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकलाई विद्यालयले संरक्षण गरेको गुनासो

दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित श्री कण्ठेश्वर माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय धनबहादुर थापा र कक्षा ५ का मनिष थापालाई ०८१ असार ७ गते कुटपिट गर्ने विद्यालयका शिक्षक ३५ वर्षीय भुवन थापा मगरलाई विद्यालय र गाउँपालिकाको शिक्षा शाखाल संरक्षण गर्न खोजेको पीडितका अभिभावकले गुनासो गरेका छन् ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप हाजिर जवाफ प्रतियोगिता भइरहेको समयमा मगरले विद्यार्थीलाई शरीरमा निलडाम बस्ने गरी कुटपिट गरेको अभिभावकको आरोप छ ।

शिक्षकले ढाडमा निलडामा बस्नेगरी छोराहरूलाई कुटपिट गरेका मनिषका बुबा होमबहादुर थापा मगरले बताउनुभयो । विद्यालयबाट छोराहरू घरमा आएपछि आफूहरूले कुटपिटको घटना थाहा पाएको होमबहादुरले बताउनु भयो । घटनाको विषयमा विद्यालयका प्रधानाध्यापक प्रेम थापा मगरसँग पनि गरेको उहाँले बताउनुभयो ।

कुटपिटको घटनाका सम्बन्धमा गाउँपालिकाको शिक्षा शाखा प्रमुख नेत्रप्रसाद गौतमलाई जानकारी दिएको र आवश्यक कारबाहीका लागि अनुरोध गरेको धनबहादुरका बुवा अर्जुन थापा मगरले जनाकारी दिनुभयो ।

शिक्षा शाखा प्रमुख गौतमले विद्यालमा बुझेर शिक्षकसँग स्पष्टिकरण माग्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापकले पनि ती शिक्षकसँग स्पष्टिकरण माग्ने बताउनुभयो ।

पीडितका अभिभावकले आश्वासन बाहेक थप कुनै कारबाही नभएको भन्दै न्यायका लागि पहल गरिदिन इन्सेक प्रतिनिधिसँग अनुरोध गरेका छन् ।

अन्य

भिडियो