INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको हत्या कसुरमा जन्मकैद

खडक नगरपालिका-११ बनौलीकी ७० वर्षीया उमावती चौधरीको हत्या कसुरमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई ०८१ असार ९ गते जन्मकैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासबाट आरोपितलाई जन्मकैदको सजायका साथै १ लाख ५० हजार रुपियाँ पीडितको हकवालालाई क्षतिपूर्ति भराउने फैसला भएको अदालतले जनाएको छ ।

उमावतीलाई २०८० माघ ६ गते साँझ लक्ष्मीले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका छोरा २१ वर्षीय कृष्णकान्त चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ ७ गते उजुरी दिनुभएको थियो । पीडितको घरआँगनमा प्रवेश गरी आमा, भाईलाई गालीबेइज्जती गर्दा होहल्ला भई छिमेकहरूले छुट्याई अलग गरेपश्चात पुनः दोस्रो पटक घरमा आई दाउराको चिरपटले टाउकोमा प्रहार गरी घाइते बनाएकोमा सोही चोटका कारण विराटनगरमा उपचारका क्रममा माघ १२ गते मृत्यु भएको भन्दै मृतकका अर्का छोरा ब्रह्मदेव चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा माघ १२ गते उजुरी दिनुभएको थियो ।

बोदे बर्साइन नगरपालिकास्थित जीवनज्योती अस्पतालमा उपचार पश्चात न्यूरो एण्ड कार्डिओ अस्पताल विराटनगरमा सघन उपचारका क्रममा माघ १२ गते उमावतीको मृत्यु भएको अस्पतालले जनाएको छ । शवको पोष्टमार्टमा कोशी अस्पताल विराटनगरमा माघ १२ गते भएको थियो । निधारमा चोट लागी लडेपछि छुटाउन गएका उमावतीका कान्छा छोरा १७ वर्षीय बिक्रम चौधरी समेत घाइते भएका थिए । उनको घाउजाँच प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा माघ १० गते भयो ।

आरोपित लक्ष्मी माघ ७ गते गिरफ्तार भएका हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८० माघ ८ गते ज्यान मार्ने उद्योगमा दर्ता भएको उजुरी उमावतीको मृत्यु पश्चात माघ १२ गते कर्तव्य ज्यानमा परिणत भएको सप्तरी प्रहरीले जनायो । जिल्ला अदालतमा फागुन १ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश श्यामबिहारी मौर्यको इजलासबाट फागुन २ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो