राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई कथित बोक्सी भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेकी सोही ठाउँकी ४९ वर्षीया बिणा भनिने लुखियादेवी यादव ०८१ असार ५ गते अदालतमा हाजिर भएकी छिन् ।
जिल्ला अदालतमा हाजिर भएकी आरोपित लुखियादेवी न्यायाधीश तिलक बहादुर कार्कीको इजलासबाट ३५ हजार रुपियाँ धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।
आरोपितहरू राजविराज नगरपालिका–१ शिवथानका ४९ वर्षीया बिणा भनिने लुखियादेवी यादव, उनका पति ५१ वर्षीय चन्देश्वर यादव, उनका भाई ३५ वर्षीय बितवा भनिने हरेराम यादव, निजकी पत्नी ३४ वर्षीया सुनिता देवी यादव, ६८ वर्षीय फुलचन्द्र यादव, उनका छोरा ४८ वर्षीय सुरेन्द्र यादव, निजकी पत्नी ४६ वर्षीया सोबिता यादवले ०७९ चैत २९ गते जग्गा जमिनको विषयमा घेरा हाली बोक्सी भन्दै मलमुत्र र फोहोर विष्टा खुवाउन खोज्दै कुटपिट गरेको पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा ०८० असार ६ गते दिएको निवेदन अनुसार ०८० माघ ११ गतेको परमादेश जारी भएको थियो । परमादेश पश्चात पीडितले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा ०८० फागुन २३ गते सनाखत भई उजुरी दर्ता भएको थियो । आरोपितहरूले जग्गा जमिनको विषयमा वादविवाद भएको बोक्सी भन्दै कुटपिट नगरेको बताएका छन् ।
आरोपित सुरेन्द्र र चन्देश्वर ०८० चैत २१ गते गिरफ्तार भएकामा वैशाख १० गते जिल्ला अदालतमा अभियोग पत्र दायर भयो । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले वैशाख १२ गते सुरेन्द्र र चन्देश्वर पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
सप्तरी जिल्ला अदालतमा हाजिर भएकी आरोपित सोबिता जेठ २८ गते न्यायाधीश उद्वीर नेपालीको इजलासबाट ३५ हजार रुपियाँ धरौटीमा रिहा भइन् । जिल्ला अदालतमा हाजिर भएका हरेराम न्यायाधीश संजिव पोखरेलको इजलासमा जेठ ३० गते २५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भए । अदालतमा हाजिर भएकी आरोपित सुनिता न्यायाधीश मणिराम न्यौपानेको इजलासबाट ०८१ असार २ गते १८ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भइन् । आरोपित फुलचन्द्र यादव हाजिर हुन बाँकी छन् ।