सामाजिक सुरक्षा भत्ता लिनका लागि ज्येष्ठ नागरिककहरुले अनिवार्य रुपमा राष्ट्रिय परिचय–पत्र बनाउनु पर्ने सरकारले निर्णय गरेपछि आफूहरुले राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकहरुले गुनासो गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत जेठ २४ गतेको निर्णयनुसार साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ज्येष्ठ नागरिकहरुका लािग राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय–पत्र बनाउन चर्को घाममा घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता सृजनाभएको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयबाट नियमित रूपमा गरिने नागरिकता प्रमाण–पत्र, राहदानी, राष्ट्रिय परिचय–पत्र, विभिन्न प्रयोजनका सिफारिसको कामसँगै ज्येष्ठ नागरिकहरू थपिनुभएको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

बेदकोट नगरपालिका–९ सुन्दरपुरकी ७५ वर्षीया ज्येष्ठ नागरिक रतन धामीले राष्ट्रिय परिचय–पत्र नभए साउनबाट भत्ता पाइदैन् भनेर वडाध्यक्षले भनेपछि प्रशासन कार्यालयमा आएर घण्टौँदेखि लाइन लागेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘बुढेसकालमा घण्टँं सम्म लाइन बस्नु पर्ने बाध्यता छ । अहिलेसम्म नागरिकताबाटै सबै काम भएको थियो । जीवनको अन्तिम समयमा राष्ट्रिय परिचय–पत्र चाहियो भनेर सरकारले बुढापाकालाई दुःख दियो ।’

शुक्लाफाँटा नगरपालिका–७ टोटीका बृद्ध लवराना खुनाले कुपनका लागि बिहानै ६ बजे प्रशासन पुगेपनि दिउँसो ३ बजेसम्म पालो नपाएर कुरिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सरकारले गरेको निर्णयमा हामीले नमान्ने कुरै छैन् । तर, यो प्रचण्ड गर्मीकाबीच हामीले जोखिम मोलेर परिचय–पत्रको फारम भर्न आउनु पर्ने बाध्यता आया । हाम्रो पीडा कसले बुझिदिने ।’
भीमदत्त नगरपालिका–१५ गोबरैयाकी असशक्त बृद्धा हरिकला आचार्यले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य परिचय–पत्र लागु गरेपछि बिरामी अवस्थामा रहेका पतिपत्नी नै बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा आउनुपरेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘हामी दुवै जना बुढाबुढी बिरामी छौँ । राम्रोसँग हिडडुल गर्न पनि सक्दैनौ । परिचय–पत्र बनाउन बिहानै आएर पालो कुरेर बस्दा समेत दिउसोको १ बजेसम्म पनि पालो आएको छैन् । यस्तो चर्काे घाममा बुढापाकालाई यसरी दुःख दिएर सरकारले के गर्न खोजेको ? ! सरकारले घरआँगनमा सिंहदरबार पु¥याएको यही हो? सबै काम स्थानीय तहमै हुन्छ भनेपछि राष्ट्रिय परिचय–पत्र बनाउन किन जिल्ला प्रशासनमा पठाएको?’
भत्ता कटौती हुनु भन्दा जोखिमै मोलेर भए पनि परिचय–पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा आएको दोधराचादँनी नगरपालिका–३ का सुनीता सुनामले दुखेसो पोख्नु भयो ।
आगामी आर्थिक वर्षदेखि परिचय–पत्र नहुँदा भत्ता रोकिने चिन्ताले नागरिक गाँउघरका दुरदराजबाट जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् । शुरुवातमै टोकन नपाउने पाएपनि पालो नपाउने समस्या भएको उहाँले दुखेसो पोख्नु भयो ।

परिचय–पत्र बनाउनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, गर्भवती बढि मारमा पर्दै आएका छन । पालो नपाएपछि उनीहरु प्रशासनमै सुत्दै आएका छन । प्रचण्ड गर्मीकाबीच बाहिर जान नसक्ने अवस्था आएपछि प्रशासनकै सिँढी खाली ठाँउमा ज्येष्ठ नगारिकहरु सुत्दै आएका छन् ।
कृष्णपुर नगरपालिका–९ रैकवारविचुवाबाट आएकी बृद्ध रन्जिता लुहारले दुई दिनदेखि पालो नै नपाएको दुखेसो पोख्नु भयो । ‘पहिलो दिन कुपन लिए, त्यो दिन पालो नै आएन, ‘उहाँले भन्नु भयो, ‘दोस्रो दिन पनि पालो आउँछ की आउँदैन अत्तोपत्तो नभएको बताउनु भयो । बेलडाँडी गाँउपालिका–१ भण्डारी टोलका दिनेश सुनारले बाजेका लागि कुपन लिनै दुई दिन लाईनमा बस्नुपरेको गुनासो गर्नु भयो ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सूचना अधिकारी उद्धवसिह कार्कीले दैनिक २ सय कुपन वितरण गर्दै आएकोमा उच्च भिडभाँडले दोब्बर वितरण गरिएको बताउनु भयो । उहाँका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिप्ट र दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म दुई सिप्टामा फारम भर्न लगाएको छ ।
सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजे नै सेवा दिन सुरु गरेको छ तर ज्येष्ठ नागरिकको सास्ती कम भएको छैन् । उहाँहरू मध्याह्नको चर्को घाममा पनि पालो पर्खिएर बस्नुपरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले राष्ट्रिय परिचय–पत्र बनाउन विवरण संकलनका लागि सबै स्थानीय तहबाट छिट्टै नै सेवा प्रवाह गरिने बताउनु भयो ।
हामीले ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीदेखि बेलडाँडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधाराचाँदनी नगरपालिकाबाटै सेवा केन्द्र विस्तार गरेर विवरण संकलन तथा राष्ट्रिय परिचय–पत्र वितरण गर्ने योजना बनाउएकोले केही दिनपछि ज्येष्ठन नागरिकहरुलाई सहजता हुने उहाँले बताउनु भयो ।