त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षामा देखिएका विकृति विसङ्गतिको अन्त्यका लागि संसदमा विचारधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेको भन्दै त्यसको विरोधमा असोज १९ गतेदेखि १३ औँ पटक अनसन सुरू गरेका छन् ।
संसदको महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिबाट पारित भई मुल समितिमा गएको चिकित्सा शिक्षा विधेयक अन्तिम अवस्थामा तोडमोड गरी जनमूखी नबनाई मेडिकल माफियामूखी बनाइएको डा.केसीको आरोप छ ।
१३ औँ पटकको अनसनमा उनले आफ्नो चार बुँदे माग अघि सारेका छन् । माथेमा प्रतिवेदन अनुसार आफ्ना सुझाव समेटेर तत्काल चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, एमबिबिएस अध्ययनको लागि सरकारले तोकेको शुल्क अनुसार उपत्यकामा ३८ लाख ५० हजार रुपियाँ तथा उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपियाँ र बिडिएसको शुल्क १९ लाख ३२ हजार रुपियाँ तथा स्नातकोत्तरको शुल्क २२ लाख ५० हजार रुपियाँ कायम गर्नुपर्ने डा. केसीको माग रहेको छ ।
यसैगरी मेडिकल माफियासँग मिलेर एमबिबिएसको चर्को शुल्क तोक्ने काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ माकजु र डीन राजेन्द्र कोजुलाई तत्काल वर्खास्त गर्नुपर्ने र जथाभावी मेडिकल कलेजको सम्बन्धन दिने त्रिविविका पदाधिकारीलाई कारबाही गरिनुपर्ने उनको माग छ ।
यसैगरि उनले भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएका नेपाल आयल निगमका निलबिम्त प्रमुख गोपाल खड्कालाई कारबाही गर्दै उनले हिनामिना गरेको अरबौँ रुपियाँ असुलउपर गर्नुपर्ने र सो कार्यमा संलग्न सबैमाथि छानबिन गरि कारबाही गर्नुपर्ने माग राखेका छन् ।
डा.केसीको अर्को मागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापनको लागि बजेट निकासा गर्नुपर्ने र सरकारले विभिन्न ठाउँमा मेडिकल कलेज खोल्ने प्रकृया अघि बढाउनुपर्ने माग गरेका छन् ।
११ औँ अनसन तराई मधेसमा बाढीको कारण २३ औँ दिनमा तोडेका डा.केसीले १२ औँ पटकको अनसन दसैँको कारण तोडेका थिए । असोज ९ गते देखि १२ औँ अनसन बसेका उनले आफ्ना माग प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै ती माग असोज १८ गते सम्म पूरा नगरे असोज १९ गतेदेखि अनसनलाई निरन्तरता दिने बताएका थिए । दसैँको कारण तेस्रो दिनमै असोज ११ गते उनले १२ औँ अनसन तोडेका थिए ।