मलंगवा नगरपालिका-७ मुसैलीकी ४४ वर्षीया बबिता देवी यादव र उहाँकी छोरी १८ वर्षीया सविता कुमारी यादवलाई सोही ठाउँका ३४ वर्षीय मोहम्द अन्सारी र २६ वर्षीय नेमत मन्सुरीले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार २ गते उजुरी दिनु भएको छ ।
आरोपितहरूले जेठ २४ गते ‘बोक्सी’ को आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको पीडितले बताउनु भयो ।
आरोपित पक्षले जेठ २९ गते मलंगवा नगरपालिका-७ वडा कार्यालय तथा नगरपालिकाको न्यायीक समितिमामा मिलापत्र गर्न दबाब समेत दिएको पीडित पक्षको आरोप रहेको छ ।
पीडितहरूको स्वास्थ्य उपचार जेठ २६ गतेदेखि २८ गतेसम्म र घाउजाँच पुनः असार २ गते प्रादेशिक अस्पताल मलंगवामा भएको पीडित पक्षले बताउनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।