
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा २०८१ जेठ ३१ गते जनकपुरधाम उपमहानगरपालिका-१७ कनरपट्टीका १६ वर्षीय बालकको औषधि खर्च निःशुल्क गरिएको छ ।
पीडित बालक जेठ २८ गते पोखरीमा नुहाउने क्रममा हाम फाल्दा टाउकोमा गहिरो चोट लागेको थियो । सो को उपचारका लागि बालकलाई जेठ २८ गते जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
गरिब तथा विपन्न पीडित परिवारले बालकको औषधि खर्च जुटाउन नसक्दा पीडितका बुबा राम विनय पासवानले इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवलाई आर्थिक तथा औषधि निःशुल्क गराइदिनुहुन निवेदन मार्फत सहयोगको लागि अनुरोध गरेका थिए ।
उक्त निवेदनका आधारमा जेठ ३१ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामका डाइरेक्टर डाक्टर राम नरेश पण्डितसँग छलफल गरी औषधि निःशुल्क गराइदिएका थिए ।