माङसेबुङ गाउँपालिकाका स्थानीयले खानेपानीको समस्याले हैरानी भएको गुनासो गरेका छन् । खानेपानीको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्याले हैरानी भएको माङसेबुङको स्थानीयको गुनासो छ ।
माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्नुहुन्छ । बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुग्नुभएकी सिर्जना घर आइपुग्दा १० बज्छ । ‘एक गाग्रो पानी थाप्न दुई घन्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ’, सिर्जनाले भन्नुभयो,‘भरिएको गाग्रो डोकामा बोकेर नाक ठोकिने उकालो झन्डै एक घन्टा हिँडेपछि बल्ल घर पुगिन्छ ।’ यसरी कष्टकर रूपमा पानी बोक्नु उहाँको एक्लो बाध्यता होईन, सिंगो रक्से गाउँकै नियति हो । ‘पानीको दुःखको त कुरै नगरौँ । बिहान ६ बजे आएको मान्छे १० बजे मात्र घर पुगिन्छ । नाक ठोकिने उकालो ४५ मिनेटसम्म पानी बोकेर जानुपर्छ । हामीलाई अलिक नजिक हो । अरूलाई त दुई घन्टासम्म लाग्छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने । तर, सबैले आश्वासन मात्र दिन्छन् । कसैले पानीको व्यवस्था गरिदिँदैनन् ।’
‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ । सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उहाँले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताउनुभयो । चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उहाँको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उहाँले सुनाउनुभयो । ‘चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ । कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ”, उहाँले भन्नुभयो, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्याङ्करबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।’
रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताउनुभयो । ‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उहाँले भन्नुभयो, ‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौं, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।’
रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउनुहुन्छ । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उहाँको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरुको भनाइ छ ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउनुहुन्छ । ‘आर्थिक वर्ष २०६७÷६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ’, उहाँले भन्नुभयो, ‘अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।’
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँनुहुन्छ ।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गर्नुभयो । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको उहाँले बताउनुभयो ।