डाक्नेश्वरी नगरपालिका-६ औरहीस्थित फत्तेपुर टोलका ५२ वर्षीय प्रितम पासवानका परिवारका ६ जनालाई सोही ठाउँका ६० वर्षीय हरिसुदन यादवसहित उनको परिवारका सदस्यहरूले कुटपिट गरेर गम्भिर घाइते बनाएको भन्दै पीडितहरूले ०८१ असार ३ गते इलाका प्रहरी कार्यालय पातोमा र असार २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
दुई दशकदेखि बस्दै आएको पासवानको घर असार १ गते भत्काएको विषयमा कुटपिट हुँदा पासवान, उहाँकी पत्नी ५० वर्षीया मुसनी देवी पासवान, छोरा ३० वर्षीय रञ्जित, छोरीहरू २१ वर्षीया रितु, १९ वर्षीया राखी र रञ्जितकी पत्नी २७ वर्षीया सरीता घाइते भएका छन् । प्रितमको हात भाँचिएको छ, मुसनीलगायत अन्यको टाउको फुटेको छ र छातीसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेहरू प्रितम, मुसनी, रञ्जित र राखीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । सरीता र रीतुको डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित उमाकान्त कल्पना मेमोरियल अस्पतालमा उपचार भएको छ ।
ढलान बाटो बनाउनका लागि पोखरीको डिलमा रहेको ऐलानी जग्गामा बनेको पासवानको फुसको घर भत्काउने क्रममा विवाद भएपछि आरोपितहरू हरिसुदन, उनका छोरा ३५ वर्षीय निरज, हरिसुदनका भाई ५० वर्षीय रामनारायण, निजमा छोरा २५ वर्षीय रोशन, हरिसुदनका दाजु श्यामनारायणका छोरा ३० वर्षीय विवेक २८ वर्षीय ऋषि भनिने कृष्णानन्द यादव र ४० वर्षीय रोहित यादवले बाँसको लाठी, फलामको रड र धारिलो हतियारले कुटपीट गरेको प्रितमले बताउनु भयो ।
मधेस प्रदेश सरकारको ४० लाख रुपियाँको बजेटबाट सोझो बाटो पारेर ढलान कार्य गर्न खोज्दा पासवान परिवारले अवरोध गर्दै हातपातमा उत्रिए पछि रक्षाका लागी प्रतिवाद गरेको हरिसुदनको भनाइ छ । कुटपिटका क्रममा आफूहरू समेत घाइते भएको उहाँले बताउनु भयो । डाक्नेश्वरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कुशेश्वर प्रसाद यादवका अनुसार बाटोका लागि पर्याप्त ठाउँ हुँदाहुँदै सुकुम्वासी दलित परिवारलाई उठिवास गराउने नियतले जबरजस्ती घर भत्काएपछि विवाद हुँदा कुटपिट भएको बताउनु भयो ।
सुकुम्बासी दलित परिवारको घर भत्काउने विषयमा समाजमा बसेर छलफल गरी समाधान खोज्नु पर्नेमा आरोपितहरूले राजनीतिक पूर्वाग्रह राखी बल प्रयोग गरेको भन्नुहुँदै स्थानीय कामेश्वर प्रसाद यादवले दोषीहरूमाथि कडा कारबाही गर्नु पर्ने माँग गर्नुभयो । सोही ठाउँका सत्यनारायण पासवानले भूमिहीन दलित सुकुम्बासीलाई व्यवस्थित बसोवास गराउनु पर्नेमा भएको घर समेत भत्काएर घरवारविहीन बनाएको दुख प्रकट गर्नुभयो ।