INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनः मतगणना हुन लाग्दा धम्की आएको भन्दै जोशीद्वारा शान्ति सुरक्षाको माग

व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार ५४ वर्षीय दिपकराज जोशीले मेयर पदको पुनः मतगणना हुने दिन नजिकिँदै गर्दा आफु र आफ्नो परिवारमाथि डर, त्रास र धम्की आउन थालेको भन्दै शान्ति सुरक्षाको माग गर्नु भएको छ । जोशीले जेठ ३१ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै आफ्नो जिउ धनको सुरक्षाको व्यवस्था गर्न माग गर्नु भएको हो ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जोशीले मतगणनाको क्रममा धाँदली गरि आफुलाई हराइएको दावी सहित मत परिणाम रद्द गरेर पुनः मतगणना गर्न २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट हाल्नु भएको थियो । जोशीको उक्त रिटमाथि उच्च अदालत पोखराले गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनः मतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । उच्च अदालतको फैसला अनुसार पुनः मतगणना गर्ने दिन असार २ गते नजिकिदै गर्दा आफु र आफ्नो परिवार माथि डर, त्रास र धम्की आउन थालेको हुँदा पुनः मतगणना सम्पन्न नहुँदा सम्म भयरिहत र शान्तिपूर्ण वातावरणमा हिडडुल गर्न पाउने वातावरण मिलाई दिन निवेदनमा उल्लेख गर्नु भएको छ ।

स्थानीय चुनावको मतगणनामा धाँधली भयो भनेर हालेको मुद्दाको सुनवाई अन्तिम चरणमा भएको अवस्था र यही असार २ गते उक्त मेयर पदको पुनःमतगणना हुने भनेर पोखरा उच्च अदालतले फैसला गरेको जोशीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको दिन २०७९ वैशाख ३० गते व्यास नगरपालिका–८ स्थित गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको केही व्यक्तिले जोशीलाई सा‌ङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।

‘विगतमा आफुलाई आक्रमण गर्नेहरुबाट म र मेरो परिवार यस समय उच्च जोखिम र डर त्रास भय र धम्कीको अवस्था पुनः मतगणनाको समयमा थप बढेको छ ।’ जोशीले भन्नु भयो ‘निर्वाचन आचार संहिता २०७९ को दफा १३ (फ) को व्यवस्था विपरित स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको जिउ धनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिडडुल गर्न पाउने शान्तिसुरक्षाको वातावरण मिलाइ पाउँ ।’ निवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखी जोशीको जिउ धनको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएको छ ।

अन्य

भिडियो