पर्वत जिल्लाको बर्राचौर क्षेत्रमा दशनामी जाती मध्ये गिरी र पुरीको संख्या ठूलो छ । सरकारले दशनामी वर्गमा सुचिकृत गरेको जाती मध्ये गिरी र पुरी पनि हो । आदिम कालदेखि सन्यासी वर्ग अन्तर्गत पर्ने अल्पसंख्यक गिरी र पुरीको धार्मिक मृत्यु संस्कार पनि आफ्नै खालको छ । नदी किनारमा हुने मृत्यु संस्कार भने यति बेला कालीगण्डकी नदी दोहनले समस्या भएको स्थानीय बासीले गुनासो गरेका छन् ।
विहादी गाउँपालिका– २ बर्राचौरका स्थानीय समुन्द्र गिरीले कालीगण्डकी नदी निरन्तर दोहन भइरहँदा मृत्यु संस्कारमा समस्या परेको बताउनुभयो । स्थानीय यादब गिरीले नदीमा पाइने ढुंगाको निकासी निरन्तर भइरहेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले अवैध तरिकाले चोरी निकासी गरेर नदीका ढुंगा निकासी हुँदा आफुहरुको मृत्युसंस्कारमा समस्या परेको गुनासो गर्नुभयो ।
गिरी जातिले मृत्यु संस्कारको अत्येष्टि मृत्यु भएका मानिसको लासलाई ढुंगाले पुर्ने गरेको बताउँदै गिरीले भन्नुभयो–‘नदीका ढुंगा सबै निकासी हुँदै गएका छन् ।’ उहाँले भन्नुभयो ‘यसरी निकासी हुँदा आफूहरुको मृत्यु संस्कारमा समस्या परेको छ ।’
पछिल्लो समय कालीगण्डकी नदीको उत्खननको दर उच्च भइरहेको छ । नदी किनारमा रहेका ढुंगा र बालुवा निकासीको क्रम रोकिएको छैन् । विहादी गाउँपालिकाको बर्राचौर क्षेत्रबाट नदी किनारमा जाने सडक खनिएपछि नदी दोहनको दर अझै उच्च छ ।
वडा न २ बर्राचौरका वडाअध्यक्ष गणेश शर्मा पौडेलले सार्वजनिक सम्पत्तिको संरक्षणको जिम्मेवारी स्थानीय तहको भएकाले यसको नियन्त्रण र अनुगमन गरिने बताउनुभयो । उहाँले अवैधानिक तरिकाले नदी दोहन भइरहेको भन्दै यसको रोकथाममा सम्बन्धित निकायहरु मार्फत पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गिरी जातिको मृत्यु संस्कार नदी किनारसंग जोडिएको छ । नदी किनारमा मृत्यु भएका मानिसको शवलाई गाडेर उनीहरुले समाधि प्राप्त गर्दछन् । पछिल्लो समय केहि ठाउँका गिरी समुदायले शवलाई जलाउने गरे पनि बर्राचौर क्षेत्रमा अझै पनि शवलाई गाड्ने प्रचलन रहेको छ । नदी दोहनका कारण किनारको बालुवाहरु रित्तिने ढुंगाहरुको निर्यात बढ्ने गर्दा त्यसले मृत्युको अन्तिम संस्कारलाई समेत प्रभावित पार्ने गरेको स्थानीय बासीहरुले गुनासो गरेका हुन् ।
पछिल्लो समय जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका क्षेत्र हुँदै बहने कालीगण्डकी नदीको उत्खननको दर बढेर गएको छ । नियमन निकायको नियमन नहुँदा नदीको अस्तित्व संकटमा परेसंगै स्थानीयले नदी संरक्षण अभियान समेत सञ्चालन गर्दै आइरहेका छन् ।