कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिदा आवतजावत बन्द भएपछि कर्णाली पारिका विद्यार्थीको पढाई प्रभावित भएको छ । झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडास्थित चण्डिका माध्यमिक विद्यालयमा अध्ययनरत दैलेख जिल्ला आठबिस नगरपालिकाका विद्यार्थीले विद्यालय जानबाट वञ्चित भएका छन् ।
चण्डिका माध्यमिक विद्यालयमामा अध्ययनरत ९५ जना विद्यार्थी पढाईबाट वञ्चित भएका छन् । उक्त विद्यालयमा आठबिस नगरपालिकाको वडा नम्बर ४, ५ र ६ का ९५ जना भन्दा बढी विद्यार्थी पढ्ने गरेका छन् ।
भारी बोकेका खच्चड पार गर्ने क्रममा ०८१ जेठ २७ गते झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि थप जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आवतजावतमा रोक लगाउँदा विद्यार्थीको पठनपाठनमा असर परेको हो । पुलमा मान्छे हिँड्न सक्ने अवस्था छैन् । पूरै पुल कोल्टे परेको पञ्चदेवल विनायक नगरपालिकाका स्थानीय रामप्रसाद जैशीले बताउनु भयो । विद्यलाय गएका विद्यार्थीहरुलाई जेठ २७ गते बेलुका डुङ्गामा राखेर जोखिमपूर्ण तरिकाले घर फर्काइएको उहाँले बताउनु भयो ।
पुलको लठ्ठा चुडेपछि कर्णालीपारिबाट एक जना विद्यार्थी पनि विद्यालयमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक नयाँराम जैशीले बताउनु भयो । दैलेखका विद्यार्थी र अभिभावकले पुलको मर्मत नहुन्जेलसम्म विद्यालय बिदा गर्नु पर्ने माग राखेको प्रधानध्यापक जैशीको भनाइ छ ।
कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिजा खातुनले विद्यालयमा आफूले नियमित पठनपाठन गर्न सक्ने वातावरणका लागि पुलको मर्मतमा सरकारको ध्यान जानु पर्ने बताउनु भयो । विद्यालयका अभिभावक सौकत अलीले विद्यार्थीको भविष्यसँग जोडिएको विषयलाई सरकारले गम्भीरताका साथ लिनु पर्ने बताउनु भयो ।
विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिको बैठक राखेर नगरपालिकासँग अनुमति लिएर विद्यालयलाई १५ दिन बिदा दिने र अहिलेको समयलाई बर्खेबिदामा मिलान गर्ने योजना बनाएको प्रधानध्यापक जैशीले बताउनु भयो ।
झुलेङ्गे पुलको लठ्ठा चुडिएपछि विद्यार्थी तथा आम नागरिकहरुको दैनिकीनै कष्ठकर बन्दैगइरहेकोले पुलको मर्मतका लागि पहल भइरहको बिनायक नगरपालिकाले जनाएको छ ।
