INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहारका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेकी सोही ठाउँकी ४६ वर्षीया सोबिता यादव ०८१ जेठ २८ गते अदालतमा हाजिर भएकी छिन् ।

जिल्ला अदालतमा हाजिर भएकी आरोपित न्यायाधीश उद्वीर नेपालीको इजलासबाट ३५ हजार रुपियाँ धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।

आरोपितहरू राजविराज नगरपालिका-१ शिवथानका ६८ वर्षीय फुलचन्द्र यादव, उनका छोरा ४८ वर्षीय सुरेन्द्र यादव, निजकी पत्नी ४६ वर्षीया सोबिता यादव, ५१ वर्षीय चन्देश्वर यादव, उनका भाई ३५ वर्षीय बितवा भनिने हरेराम यादव, निजकी पत्नी ३४ वर्षीया सुनिता देवी यादव, चन्देश्वरकी पत्नी ४९ वर्षीया बिणा भनिने लुखिया यादवले ०७९ चैत २९ गते जग्गा जमिनको विषयमा घेरा हाली ‘बोक्सी’ भन्दै मलमुत्र र फोहोर विष्टा खुवाउन खोज्दै कुटपिट गरेको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा ०८० असार ६ गते दिएको निवेदन अनुसार ०८० माघ ११ गतेको परमादेश जारी भएको थियो । परमादेश पश्चात पीडितले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा फागुन २३ गते सनाखत भई उजुरी दर्ता भएको थियो । आरोपितहरूले जग्गा जमिनको विषयमा वादविवाद भएको ‘बोक्सी’ भन्दै कुटपिट नगरेको बताएका छन् ।

आरोपित सुरेन्द्र र चन्देश्वर ०८० चैत १६ गते गिरफ्तार भएकामा ०८१ वैशाख १० गते जिल्ला अदालतमा अभियोग पत्र दायर भयो । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले वैशाख १२ गते सुरेन्द्र र चन्देश्वर पुर्पक्षका लागि कारागारमा थुनामा छन् । अन्य आरोपितहरू फुलचन्द्र यादव, बितवा भनिने हरेराम यादव, सुनिता देवी यादव, लुखिया यादव फरार रहेका छन् ।

अन्य

भिडियो