INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी र पहिरो पीडितले क्षतिपूर्ति र राहत नपाएको गुनासो

बिगतमा आएको बाढी र पहिरोबाट क्षति भएका परिवारले अहिलेसम्म क्षतिपूर्ति, राहत र बिस्थापित भएकाहरूको पुनर्थापना जस्ता काम हुन नसकेको पीडितहरूले गुनासो गरेका छन् ।

गत वर्ष मेलम्ची नदीमा आएको बाढीले घर जग्गा बगाएर बिस्थापित भएका मेलम्ची नपा— ११ का श्यामबहादुर खड्का अहिलेसम्म आफ्नो थातथलो फर्कन सकेका छैनन् । जुरे पहिरो पीडित बाह्रविसे नपा– ५ राम्चेका अर्जुन थापाको परिवार पनि घर फर्कन सकेका छैनन् । यसैगरी, लिदि पहिरो पछि बिस्थापित भएका जुगल गाउँपालिका–२ का सात परिवार गाँउ फर्कन सकेका छैनन् ।

माथि उल्लेखित पात्रहरू प्रतिनिधि मात्र हुन् । उहाँ जस्तै बाढी, पहिरोबाट पीडित भएका थुप्रैले अहिलेसम्म क्षतिपूर्ति, राहत, र पुनर्थापित हुन् सकेका छैनन् ।

गतवर्ष भोटेकोशी गाउँपालिका– १ लिस्तीमा साउन ५ गते आएको सुख्खा पहिरोले चरनमा रहेको २२ वटा बाख्रा बगाएर क्षति गरेको थियो । मेलम्ची, हेलम्बु, बाह्रविसे, भोटेकोशी, पाँचपोखरी, थाम्पाल र जुगल जिल्लाका मुख्य जोखिमयुक्त बस्तीहरू हुन् ।

यसवर्षको सम्भावित बिपतबाट बच्न र बिपत न्यूनिकरणका लागि मेलम्ची, बाहुनेपाटी, हेलम्बुमा बिपतको समयमा बच्ने र उद्धार कसरी गर्ने भन्ने उदेश्यले बिपतको सिम्बुलेसन कार्यक्रम मात्र सञ्चालन भएको  जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो ।

बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा मनसुनको समयमा अस्थायीरुपमा सुरक्षित बस्नकोलागि केही सामग्रीको व्यवस्था गरिएको भएपनि त्यो पर्याप्त नभएको बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनु भयो ।

हेलम्बु गाउँपालिकाको नाकोते र पाँचपोखरी गाउँपालिकाको याग्रीमा पानीको बाहक यन्त्र सञ्चालनमा ल्याइएको भएपनि त्यसको प्रभावकारिता कम रहेको पाँचपोखरी थाम्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बताउनु भयो ।

बाढी पहिरोको जोखिम न्यूनिकरणका प्रयासहरु संघीय सरकारको निकायबाट कमी हुँदा प्रभावित गाउँका नागरिकहरू त्रासमा बाँच्नु पर्ने बाध्यता रहेको जिल्ला बार एकाइका अध्यक्ष भूपेन्द्र थिङले बताउनु भयो ।

विगतमा बाढी, पहिरोबाट पीडित भएकाहरू आकाशमा कालो बादल देख्ना साथ बाढी र पहिरोको भयले त्रासमा बाँच्नु परेको छ । बाढी र पहिरोको उच्च जोखिममा यस जिल्ला रहेको घटनाक्रमहरूले पुष्टि नै गरेको छ ।

विगत वर्षहरुमा सिन्धुपाल्चोक जिल्लामा ठूला ठूला बाढी र पहिरोले धेरै धन जनको क्षति पुगेको थियो भने धेरै गाउँका नागरिकहरू बिस्थापित भएका थिए । जुरे, लिदिको पहिरो, भोटेकोशी, मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले धेरै नागरिकहरूको घर, जमिन, धन सम्पत्ति, बस्तुभाउ लगायत सम्पुर्णरुपले क्षति पुगेको थियो ।

मनसुनजन्य जोखिमबाट नागरिकहरूलाई सुरक्षित गर्न नसक्दा बाढी पहिरो प्रभावित गाउँका नागरिकहरूले आर्थिक आय आर्जनका कार्यक्रम गर्न पाएका छैनन् भने सामाजिक तथा साँस्कृतिक क्रियाकलाप समेतमा अवरोध भएको नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो