INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको समस्या झेल्दै जयगढबासी

बन्नीगढी जयगढ गाउँपालिका–३ जयगढबासीले गर्मी मौसममा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । बन्दीगढी जयगढ गाउँपालिका–३ धारासैनबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि खोनीपानीको वैकल्पिक व्यवस्थापन नगरिएको कारण यस क्षेत्रका स्थानीयहरुले खानेपानीको समस्या झेल्नु परेको हो ।

गर्मी मौसममा वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको भए पनि सम्बन्धित निकायहरुले समस्या समाधानका लागि वैकल्पिक व्यवस्था नगरिदिएका कारण आफूहरुले खानेपानीको समस्या झेल्नुपरेको स्थानीय मोतीकला साउदले गुनासो गर्नु भयो ।

गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने र खोनेपानीको जोहो गर्नकै लागि घरको एक जना महिला दैनिक खटिनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

जयगढ बजार क्षेत्रमा खानेपानीको अभाव हुँदा शौचालय प्रयोग गर्न र सरसफाई गर्न समस्या उत्पन्न भएको स्थानीय सुन्दर ठकुल्लाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘जयगढ क्षेत्रका केही व्यापारीले पानीको उपयोग गरेपनि सर्वसाधारणहरुले सास्ती खेप्नुपरेको छ । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभावमा असक्त र बालबालिकाहरुमा झाँडापखाला लाग्ने गरेको छ ।’

जयगढ बजारमा वर्षौदेखि खोनेपानीको अभाव हुँदै आएपछि स्थानीयहरुले समस्या झेल्नुपरेको र यसको दिर्घकालिन समाधानका लागि पहल भइरहेको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नवराज साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो–वर्दादेवी जयगढमा ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत १ सय ५० धारा निर्माण कार्य सम्पन्न भएको छ । साविकको वडा नम्बर ६ र ७ को धारासैनबाट चार मुहानको पानी जयगढ बजारमा पुर्‍याउने काम अन्तिम चरणमा पुगेको छ । केही महिना भित्रै खानेपानीको समस्या समाधान हुन्छ ।

संघीय सरकारबाट प्राप्त १ करोड आर्थिक सहयोग र गाउँपालिकाको प्राविधिक सहयोगमा जयगढ खानेपानी आयोजनाको काम तिव्र रुपमा अघि बढेकोले केही महिना भित्रै खानेपानीको समस्या दिर्घकालीन रुपमै समाधान हुने गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले बताउनु भयो ।

गाउँपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत जयगढ खानेपानीको काम अघि बढेको र ५० हजार लिटरका दुई ओटा खानेपनी ट्याङ्की निर्माण गरी असार १५ गते भित्र १ सय ५० घरधुरीमा एकै दिन धारामा पानी पुगाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष साउदको भनाइ छ ।

जयगढ बजारसँगै भुवाँवाझ, देवल बजार, बसौटी, सिमल चौतारा र एक्ले सल्ला वजारका स्थानीयहरुले पनि वर्षैदेखि खानेपानीको समस्या भोग्नुपरेकाले यस क्षेत्रका स्थानीयहरुलाई पनि खानेपानी सुविधा उपलब्ध गराउने योजना बनाइएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो