INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन इन्सेकसँग आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता भएका कृष्णबहादुर बस्नेतको न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका आफन्तले इन्सेकसँग आग्रह गरेको छ ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालिन बिद्रोही पक्ष नेकपा माओवादीले अपहरण  गरी बेपत्ता बनाएका कृष्णबहादुर बस्नेतको अवस्था सार्बजनिक गरी न्यायका लागि पहल गरी दिन चौतारा साँगाचोकगढी नपा— ६ की सीता बस्नेतले ०८१ जेठ २७ गते निवेदनमार्फत इन्सेकसँग आग्रह गर्नु भएको हो ।

द्वन्द्वको समयमा कृष्णबहादुर बस्नेतलाई प्रहरी भएको आरोपमा ०६१ फागुन १३ गते काठमाडाैँ जादै गर्दा साँगाचोक भञ्ज्याङबाट बेपत्ता बनाएको पत्नी सीता बस्नेतले बताउनु भयो ।

साबिकको पीपलडाँडा गाविस—२, हाल चौतारा साँगाचोकगढी नपा—६ पिँडालुबारी स्थायी घरभई प्रहरी प्रधान कार्यालयको असइमा कार्यरत ४३ वर्षीय कृष्णबहादुर बस्नेत यातायात बन्द भएको समयमा पैदल काठमाडाैँ जादै गर्दा साँगाचोक भञ्ज्याँङबाट नेकपा माओवादीका कार्यकर्ताहरूले  अपहरण गरेका थिए ।

शान्ति स्थापनापछि तत्कालिन विद्रोही नेकपा माओवादीले ०६३ असार १३ गते एक वक्तव्य प्रकाशित गरी जनताले कुटपिट गरी हत्या गरेको भनेको थियो । तर, वक्तव्यमा कहाँ, कहिले, कसरी, हत्या भएको भन्ने कुरा भने उल्लेख गरिएको थिएन । बस्नेतको खोजीका लागि आफन्तले धेरै प्रयास गरेपनि अवस्था पत्ता नलागेको सीता बस्नेतले बताउनु भयो ।

आफूले न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, बेपत्ता छानविन आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय शान्ति समिति लगायतका निकायमा अनुरोध गरेपनि हालसम्म न्याय नपाएको सीता बस्नेतले बताउनु भयो ।

इन्सेक अनलाइनमा “अझै पाइनन् बेपत्ता परिवार सीता बस्नेतले राहत” शीर्षकको समाचार प्रकाशन भएपछि सीता बस्नेतलाई ०६६ सालमा सरकारले राहत उपलब्ध गराएको थियो ।

आफूलाई राहत दिलाउन इन्सेकको ठूलो भूमिका रहेकोले न्यायको लागि पनि पहल गरिदिन इन्सेकलाई नै अनुरोध गरेको सीता बस्नेतको भनाइ छ ।

victim letter 2024061001sindhupalchok

अन्य

भिडियो