जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका-४, खलङ्गामा करिव ४ सय घरधुरीमा खानेपानीको अभाव रहँदै आएको छ ।
जिल्लाका अधिकांश स्थानीय तहहरूले ‘एक घर, एक धारा‘ भन्ने अभियान लिए पनि प्यूठान जिल्लाको सदरमुकाम खलङ्गामा ६ ओटा विभिन्न मुहानबाट खानेपानीको आपुर्ति हुँदै आएको थियो । खडेरीको समयमा पानीको मुहान सुकेपछि अहिले पानीको समस्या देखिएको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्तलाल शाक्यले बताउनु भयो । ‘प्रायजसो पानीको अभाव नै हुन्छ । खडेरीले गर्दा अझ बढी समस्या भएको छ । दैनिक ३ लाख लिटर जती पानी खपत हुने खलङ्गामा हाल पानीको अभाव रहेको छ’, उहाँले भन्नुभयो ।
वर्षाको समयमा पानीको पर्याप्त सुविधान नभएको ठाउँमा गर्मी समयमा स्थानीयले दैनिक एक गाग्री पानी पनि मुस्किल्ले पाउने गरेको र अन्य कपडा धुने, सरसफाई गर्ने लगाएको प्रयोजनका लागि ६ किलोमटिर टाढा झिमरुक नदीबाट ट्याङ्करबाट ढुवानी गर्न बाध्य भएको मल्लरानी गाउँपालिका-४ का ३५ वर्षीय सुजल श्रेष्ठले बताउनु भयो । सरकारले सदरमुकाम बासीलाई पर्याप्त खानेपानीको सुविधान पुर्याउन नसक्नु दुःखको कुरा भएको स्थानीय ३६ वर्षीय प्रभात श्रेष्ठले बताउनु भयो । सदरमुकाम बासीले वर्षा तथा गर्मी दुवै समयमा खानेपानीको समस्या लामो समयदेखि भोग्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिकाले झिमरुक लिफ्ट खानेपानी आयोजना अघि बढाएको आयोजना अन्तर्गत ट्याङ्की निर्माण, पाइपलाइन निर्माण लगायतका संरचना निर्माणको काम सम्पन्न भइसकेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । मोटर जडान गर्न बाँकी रहेकाले झिमरुक लिफ्ट सञ्चालन भएपछि सदरमुकामको खानेपानीको समस्या हल हुने अध्यक्ष खड्काले बताउनु भयो । सदरमुकामा खानेपानीको समस्या लामो समयदेखि रहँदै आएको र यसलाई समाधान गर्न गाउँपालिका लागि परेको अध्यक्ष खड्काको भनाइ छ । सदरमुकाममा रहेका सरकारी कार्यालयहरूमा पनि गर्मीको समयमा प्रत्येक वर्ष खानेपानीको अभाव हुने गरेको छ ।