INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयकाे भौतिक पूर्वाधार जीर्ण भएपछि पठन पाठन प्रभावित

निसीखोला गाउँपालिका– ६ निसेलढोरको कुँडेढोर प्राथमिक विद्यालयमा जीर्ण भौतिक पूर्वाधारका कारण पठन पाठन प्रभावित हुने गरेको छ ।

२०६४ सालमा स्थापना भएको विद्यालयका दुई ओटा भवन जीर्ण छन् । भवनको छानो चुहिने भएको छ, झ्याल ढोका पनि जीर्ण छन्, बतास छेक्दैनन् । ५२ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा भौतिक पूर्वाधार मात्र होइन्, शैक्षिक सामग्रीदेखि आधारभूत सेवाको अभाव छ ।

तीन ओटा भवन रहेको विद्यालयका दुई ओटा भवन कच्ची छन्, जसमध्ये एउटा भवन पूर्ण जीर्ण छ, पानी पर्दा मात्र होइन्, हावाहुरी चल्दा पनि कक्षाकोठामा बस्न मिल्दैन् । बर्खामा ओत लागेर पढ्ने यहाँका विद्यार्थी हावाहुरी चल्दा थप जोखिम हुने गरेको छ ।

घुम्ती बसाईं हुने निसेलढोरको यस विद्यालयमा बर्खा लागेपछि २५ जना विद्यार्थी थपिन्छन् । विद्यार्थी कम हुँदै गएका जिल्लाका विद्यालयका सुविधा सम्पन्न भवन खाली हुँदै गएको समयमा कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थी भने चुहिने फलेकको छानोमुनि पढ्न बाध्य रहेका छन् । कक्षा पाँच का विद्यार्थी जीर्ण भवनको कक्षाकोठामा पढ्छन् ।

कहिले काँही पढाउँदा पढाउँदै फलेकको छानोबाट कुहिएको काठ झर्ने गरेको विद्यालयका निमित्त प्रधानध्यापक रुद्र बिकले बताउनुभयो ।

‘विद्यालयको आफ्नो स्रोत छैन्, यहाँका जनतालाई छाक टार्नकै समस्या छ, बिकले भन्नुभयो, राज्यले चिन्दैन् दुर्गममा जन्मनुको पीडा भोगिरहेका छौँ ।’ विद्यालयको भवन निर्माणका लागि गाउँपालिकासँग बजेट माग गरेको उहाँको भनाई छ ।

२०६४ सालमा विद्यालय भवन निर्माण भएपछि हालसम्म मर्मत सम्भार समेत हुन सकेको छैन् । तत्कालिन समयमा काठका फलेकले विद्यालयको छानो छाइएको थियो । अहिले सबै काठ कुहिएका छन् । कुहिएका काठ हटाएर जस्ताले छानो छाउन सके विद्यालय र विद्यार्थी सबैलाई राहत हुने विद्यार्थीको भनाई छ ।

‘आकाशबाट पानी पर्दा बेन्चमै झर्छ, हिउँ पर्दा पग्लेर कोठै भरिन्छ, कक्षा पाँच मा अध्ययनरत सृष्टी मगरले भन्नुभयो, टिनको छानो हाल्न पाए सबैलाई सजिलो हुन्थ्यो ।’

निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती रहेको छ । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट गर्मीको समयमा यहाँ आउने खेतीपाती गर्ने र चिसोमा बेसी झर्ने गर्दछन् भने ५० घर भने स्थायी रुपमा निसेलढोरमै बस्ने गरेका छन् ।

photo4 082-2-24 baglung

photo 2 082-2-24 baglung

photo1 082-2-24 baglulng

photo 3 082-2-24 baglung

अन्य

भिडियो