पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउँदा ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ, भने दुई जना प्रहरीको कुटपिटबाट घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई जेठ २३ गते सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका थिए । ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा र कालो झण्डा देखाउँदा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेकाे हो ।
गिरफ्तार हुनेमा ४२ वर्षीय राजेन्द्र रानाभाट, २२ वर्षीय सुमन दवाडी, ३५ वर्षीय सरोज रमण अधिकारी, ६५ वर्षीय चन्द्रमान गुरुङ, ३२ वर्षीय अपिल पाण्डे, ३९ वर्षीय विष्णु माया वि.क, ३० वर्षीया मुना बि.क, ३६ वर्षीय भिमा सुवेदी, ४० वर्षीया टिका पराजुली, ४४ वर्षीया सुमा थापा, ४६ वर्षीया थमिला गुरुङ रहनु भएको छ भने प्रहरीको कुटपिटबाट ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३७ वर्षीया अनुराधा श्रेष्ठ घाइते हुनुभएको छ । उहाँहरुको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार भएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताउनुभयो ।


