भागेश्वर गाउँपालिका–४ आर्कुडा घर भई भागेश्वर गाउँपालिका योजना शाखाका सव ओभरसियर ५६ वर्षीय कल्याण कामीलाई गालिगलौज गरी जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय लालसिंह भाटलाई ०८१ जेठ २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई जेठ १९ गते जातीय विभेद हुनेगरी गालिगलौज गरेको भन्दै पीडितले आरोपित भाट विरुद्ध जेठ २२ गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दिनुभएको थियो ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थपपछि अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर बिरबहादुर थापाले बताउनु भयो ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन २०६८ को दफा ७ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि नीजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरेमा तीन महिनादेखि तीन वर्ष कैद र ५० हजारदेखि २ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।