आठविसकोट नगरपालिकामा–५ स्थित मष्टकैलाश आधारभूत विद्यालयमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा शिशु कक्षाका बालबालिकाहरु सिँढीमुनिको कोलियामा बसेर पढ्छन् भने कक्षा १, २ र ३ का बालबालिकाहरुको एउटै कोठामा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ ।
कक्षा तीन सम्म पढाइ हुने विद्यालयमा एउटा दुइ कोठे भवन मात्र छ । त्यसै गरी ४ नम्बर वडाकोे इन्द्रज्योती आधारभूत विद्यालयमा कक्षा १ र २ को लागि एउटै कक्षाकोठा रहेको छ । दुई ओटा कक्षाका बालबालिकाहरुलाई एउटै कोठामा राखेर पठनपाठन भइरहेको छ ।
बालमैत्री तथा गुणस्तरीय शिक्षण सिकाइको चर्चा भइरहेपनि एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीहरु कोचेर पठनपाठन गराउनु पर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतर्फ शौचालय र खानेपानीको समेत सुविधा छैन ।
कैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनप्रसाद शर्माले दुई कोठे विद्यालय भवनमा चार ओटा कक्षा र एउटा कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । एउटा कोठामा विद्यालयको कार्यालय राखिएको छ भने अर्को कोठामा कक्षा १, २ र ३ का विद्यार्थीहरु राख्ने गरिएको छ । शिशु कक्षाका साना बालबालिकाहरुलाई भने माथिल्लो तला जानलाई ठाउँ राखिएको सिँढीमुनिको कोलियामा राखेर पढाउने गरिन्छ ।
बाल शिक्षासहित चार ओटा कक्षाकोठा आवश्यक छ तर विद्यालयमा एउटा मात्र कोठाले पठनपाठन सञ्चालनमा समस्या रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘२०६५ सालतिर श्रमदान गरेर बनाएको कच्ची भवन भूकम्पले चिराचिरा बनायो, अहिले चार ओटै कक्षाका विद्यार्थी र अफिसलाई दुई कोठे भवनमा केन्द्रित गरेका छौ ।’
विद्यालयमा १ सय ८ जना बालबालिका भर्ना भएका छन् । शिशु कक्षाका ३५ जनालाई सिँढीमुनिको कोलियामा र अन्य तीन ओटा कक्षाका ७० बढी बालबालिकालाई एउटै कोठामा राखेर पठनपाठन हुने गरेको छ । भूकम्पले चिराचिरा बनाएको भवनमा उच्च जोखिमका साथ कुनै बेला विद्यार्थीहरु राखेर पठाउने गरिएतापनि हावाहुरी आउदा र पानी पर्दा सबै विद्यार्थीलाई पक्की भवनको एउटा कोठामा राख्ने गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
इन्द्रज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक कल्पना बिएम बिष्टले कक्षा १ र २ का बालबालिकाहरु एउटै कोठामा राखेर पठाउने गरिएको बताउनुभयो । कक्षा १ मा १७ जना र कक्षा २ का १८ जना विद्यार्थीहरुलाई एउटै कोठामा कोचकाच पारेर पठनपाठन गराइन्छ । शौचालय र खानेपानीको सुविधा छैन । दुई कक्षाका लागि छुट्टाछुट्टै बोर्डको व्यवस्था गरिएता पनि पठनपाठन सहज नभएको उहाँको भनाइ छ ।
प्रधानाध्यापक बिष्टका अनुसार दुई कक्षा एउटै कोठामा हुँदा हो हल्ला त हुन्छ नै, एउटा कक्षाको ध्यान अर्को कक्षातिर जान्छ अनि भने जसरी पढाइको वातावरण हुँदैन । यी दुबै विद्यालयमा शौचालय, खानेपानी र घेराबारको समस्या रहेको छ ।
मष्टकैलाश आधारभूत विद्यालयमा २०६५ सालमै बनाएको कच्ची शौचालय जीर्ण रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । चिराचिरा परेको एउटै शौचालयमा शिक्षक, छात्रा र छात्रहरुले प्रयोग गरिरहेका छन् । त्यसैगरी विद्यालयमा खानेपानी सुविधा नहुँदा दुई किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
जाजरकोट भूकम्पपछि अधिकांश विद्यालय भवनमा क्षति पुगेपछि समस्या भइरहेको छ । विगत देखि नै भौतिक पूर्वाधारको अभाव रहेकोमा शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा भूकम्पले थप समस्या भएको आठविसकोट नगरपालिकाका नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो ।
यस विषयमा सबै सरोकारवालाहरुसँग सहयोगका लागि अनुरोध गरिएको छ । स्थानीय सरकारको श्रोतले मात्रै समस्याहरु समाधान गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
भूकम्पपछि अस्थायी सिकाइ केन्द्र मार्फत नियमित पठनपाठनका लागि लाखौ खर्च गरेका विभिन्न दातृ निकायको समेत यी विद्यालयहरुमा ध्यान जान नसकेको विद्यालयको गुनासो रहेको छ ।
