चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा रोल्पा जिल्लाको अधिकांश स्थानीय तहका सेवाग्राहीले समस्या झेल्नु परेको छ ।
विद्युत सेवा अवरुद्ध भएको चार दिन बितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण र स्थानीय सरकारले कुनै चासो नदेखाएका कारण आफूहरूले सास्ती खेप्नु परेको स्थानीयहरूले गुनासो गरेका छन् ।
जिल्लामा जेठ १९ गते आएको हावाहुरीले स्थानीय जल विद्युत ट्रान्समिटरमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा साँझ बिहान घरायसी काम गर्न र बालबालिकाहरूको पढाइमा समेत समस्या हुने गरेको छ ।
रोल्पा र प्युठान जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका प्रमुख असेस्वर शाहले जानकारी दिनुभयो । उक्त सेवा अवरुद्ध भएसँगै जिल्लाभर सञ्चार सेवा बन्द भएको उहाँको भनाइ छ । बिजुली बत्ती नभएपछि जिल्लाको सदरमुकाम लिवाङमा लिफ्टिङ मार्फत निर्माण गरिएको खानेपानी नै बन्द भएपछि त्यहाँका स्थानीय तथा डेरा गरेर बस्नेहरू प्रभावित बनेको मानव अधिकारकर्मी घनस्याम आचार्यले जानकारी दिनुभयो ।
बत्ती नभएपछि विभिन्न सरकारी कार्यलयहरूमा काम कार्य समेत प्रभावित हुँदा सेवाग्राही मर्कामा परेको रोल्पा नगरपालिका-२ का स्थानीय ७९ वर्षीय नन्दकुमार आचार्यले जानकारी दिनुभयो ।
स्थानीय आचार्यले भन्नुभयो, ‘बत्ति नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ । घर वरिपरि बत्ति निकालिएको छ । तर, हावाहुरीले विद्युतका पोलहरू ढलेपछि बत्ति पाएका छैनौँ । बत्ति नहुँदा बालबालिकालाई टुकी र सोर्य उर्जाबाट पढाउन परेको छ ।’
विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख असेस्वर शाहका अनुसार लमही र झिम्रुकको बिचमा पर्ने अर्जुन खोलादेखि माथि चरिघाट जङ्गलमा १ सय ३२ को लमहीदेखि झिम्रुक जोड्ने तार चुडिएको कारण विद्युत सेवा बन्द भएको छ । अहिले उक्त क्षेत्रमा तार जोड्ने कार्य भइरहेको शाहले इन्सेकलाई जानकारी दिनुभयो ।