पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुट्ने अंग्रेजी शिक्षक सुदीप अधिकारीलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ ।
बालकलाई गृहकार्य दिएको र अक्षर नराम्रो भएको भन्दै जेठ १३ गते शिक्षकले कुटपिट गर्दा विद्यार्थी घाइते भएका थिए । बालकको पिठ्यूमा गहिरो चोट लागेर निलडाम भएको छ ।
घटनाको अनुगमन गर्न गएका अधिकारकर्मीको पहलमा जेठ २० गते विद्यार्थीकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि प्रहरीले आरोपित शिक्षकलाई सोही दिन गिरफ्तार गरेकाजिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
घटनाको अनुगमनमा गएको टोलीले इलाका प्रहरी कार्यालय डाडाको नाकका डिएसपी सुनिल कुमार मल्ललाई भेटी घटनाको सत्यतथ्य अनुसन्धान गरि कुटपिटमा सम्लग्न शिक्षकलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको थियो ।
अनुगमन टोलीद्वारा बालकको घरमा गई घटनाको बारेमा र बालकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइएको थियो । साथै अधिकारकर्मीहरुद्वारा विद्यालय का प्रधानाध्यापक हरि धमलालाई भेट गरि घटनाका बारेमा जानकारी लिनुका साथै विद्यालयलाई बालमैत्री बनाउन अनुरोध गरिएको थियो ।
अनुगमनमा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल, कोपिला नेपालका निर्देशक तथा शान्तिका लागि नागरिक समाजको सन्जालका संयोजक बिना शिलवाल, सिविनका शंकर नेपाली, एड्भोकेसी फोरमका संयोजक कुन्जनी परियार प्यासी, जिल्ला बाल संगठन कास्कीका अध्यक्ष बामदेव ढुङ्गानाको सहभागिता रहेको थियो ।
विद्यालय प्रशासनले विद्यार्थीलाई कुट्ने शिक्षक सुदीप अधिकारीलाई बर्खास्त गरिसकेको छ । अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा घटना घटेको दिनमानै ठाडो उजुरी पनि दिएका थिए । ठाडो उजुरीमा प्रहरीले दुवै पक्षलाई बोलाएर सल्लाह पनि गरेका थियो ।

