बालिघरे प्रथा हटे पनि आरनमा काम गर्नेहरूको जीवनयापन सुध्रिन सकेको छैन ।
बालिघरे प्रथा हटेर व्यवस्था परिवर्तन भए पनि आरनमा काम गर्नेहरूको जीवनमा परिवर्तन आउन नसकेको चौतारा साँगाचोकगढी नपा— ५ का टंकबहादुर बिश्वकर्माले बताउनु भयो ।
काम अनुसारको ज्याला नपाउदा आरन चलाएर जीविका चलाउदै आएकाहरूको जीवनयापनमा अहिले समस्या भएको छ ।
आरनमा फलामको काम गर्दै आएका टंकबहादुरका पति पत्नी मिलेर दिनभर पसिना बगाएर हतियार बनाउनेदेखि बिष्टहरूको फलामका सबै काम गर्छन्, तर श्रम अनुसारको ज्याला नपाउदा समस्या भएको टंकबहादुर बिश्वकर्माले बताउनु भयो ।
‘पहिले पहिलेको जस्तो बालिघरे चलन त अहिले छैन तर पनि पुर्खाले गर्दै आएको काम भएकोले त्यही काममा लागियो, अरू बस्तुभाउको मूल्य जसरी वृद्धि भएको छ, यो पेसामा भने बिष्टहरूको दयाले दिएको रकममा चित्त बुझाउनु पर्छ, टंकले भन्नु भयो ।
अहिलेको आकाशिएको महंगीले जीवन धान्न धौ धौ परेको बताउनु हुन्छ आरनमा पतिलाई सहयोग गर्दै आउनु भएकी गमली बिश्वकर्मा ।
अन्य पेसामा कामको मूल्य भए पनि आरनमा काम गर्नेहरूको कुनै मूल्य नभएको टंकबहादुरको भनाइ छ । पुस्तौदेखि बिष्टहरूको दयाले दिएको अन्नपात र नगद हात थापेर काम गरेका थियौं । अहिले दयाको भरमा जीवन नचल्ने अवस्था रहेको टंकबहादुरले बताउनुभयो ।
माथिका दुई जना प्रतिनिधिमूलक पात्र हुन् । बिश्वकर्माको पति पत्नी जस्तै बिष्टहरूको हँसिया, कोदालो खुकुरी लगायतका कृषिजन्य हतियारहरू बनाउने र साध लागाउने, काम गर्दै जसोतसो दुःखले जीवन गुजारा गर्दै आएकाहरूलाई पनि आफ्नो परिवार पाल्न र जीवन धान्न समस्या रहेको छ ।
