INSEC Online

📅 २०८३ जेष्ठ २१

मुख्य निर्वाचन अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा असोज ८ गते सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले  दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

राजविराजस्थित जिल्ला अदालत परिसरमा रहेको सूचना कक्षमा राजविराज नगरपालिकाको असोज ७ गते बिहानदेखि रोकिएको मतगणना सुचारू गराउने विषयमा आयोजित सर्वपक्षीय छलफलको समाचार सङ्कलनमा रहेका पीडित पत्रकार रामलाई मुख्य निर्वाचन अधिकृत कोइरालाले दुर्व्यवहार गरी क्यामेरा समेत तोडफोड गरेको पत्रकार रामले बताए ।

मुख्य निर्वाचन अधिकृत कोइरालाले ‘निर्वाचनसम्बन्धी काम कारबाहीमा पत्रकारलाई प्रवेश निषेध छ । किन छिरेको -‘ भनेर क्यामेरा खोसी फाल्दै दुर्व्यवहार गरेको पत्रकार रामले बताए । मुख्य निर्वाचन अधिकृत कोइरालासँग सम्पर्क गर्दा उनले पत्रकारहरूसँग नभेट्ने प्रतिक्रिया दिए ।

यसैबिच नेपाल पत्रकार महासङ्घले असोज ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राममाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारलाई सहज समाचार सङ्कलनको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

त्यसैगरि नागरिकलाई सुसूचित गराउने जिम्मेवारी बहन गरिरहेका पत्रकारलाई समाचार सङ्कलन गर्ने कार्यमा रोक लगाई दुर्व्यवहार गरिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासंङ्घ सप्तरीले समेत घटनाको भर्त्सना गरेको छ ।

अन्य

भिडियो