INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र द्वन्द्वकालीन मुद्दाको कारण रोक्का भएको जग्गा २८ वर्षपछि फुकुवा

शुक्लागण्डकी नगरपालिका– ६ का ६३ वर्षीय जसबहादुुर सार्कीले सशस्त्र द्वन्द्वकालीन मुद्दाको क्रममा रोक्का भएको विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी जग्गा २८ वर्षपछि फुकुवा पाउनु भएको छ ।

२०५३ सालको नकवजनी चोरी मुद्दामा उहाँको छोरा बिरबहादुर सार्की २०५४ सालमा जिल्ला अदालतबाट दोषी ठहर भई जरिबाना वापत राख्नुपर्ने रकमको सट्टामा धरौटी राखिएको उक्त जग्गा हालसम्म फुकुवा भएको थिएन । तनहुँ जिल्ला आदतलको २०८० माघ १३ गतेको फैसला अनुसार जसबहादुरले ०८१ जेठ १७ गते जिल्ला मालपोत कार्यालय तनहुँबाट सो जग्गाको फुकुवा पत्र पाउनु भएको हो ।

२०५३ सालमा साविक छाङ गाविस हालको म्याग्दे गाउँपालिका– ४ थर्पु स्थित मिन माविबाट माओवादी कार्यकर्ताहरुले टाइपराइटर लुटेर लगेपछि विद्यालय प्रशासनले जसबहादुरका छोरा बिरबहादुर नेपाली लगायत विरुद्ध जिल्ला अदालतमा चोरी मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालतबाट २०५३ असार २४ गते बिरबहादुर लगायत अन्य आरोपितलाई ६१ हजार १ सय २५ रुपियाँ धरौटी लिई तारेखमा राख्ने आदेश भएको थियो । तर धरौटी वापत राख्नुपर्ने रकम बिरबहादुर नेपालीसँग नभएपछि उक्त १२ रोपनी जग्गा जेथा जमानतमा राख्नु भएको थियो । उक्त जग्गा जसबहादुरका बुवा जबरे सार्कीको नाममा रहेको थियो । जबरे सार्कीको यस अघि नै निधन भइसकेको थियो ।

तारेखकै क्रममा बिरबहादुर भारत गएको र अदालतमा तारेख लिन समेत नआएपछि जिल्ला अदालतले उहाँलाई उक्त मुद्दामा २०५४ साउन १६ गते दोषी ठहर गरेको थियो । सो क्रममा अदालतले धरौटी वापत राखेको उक्त जग्गा जफत गरि असुर उपर गर्नु भन्ने फैसला गरेको थियो । यस विचमा बिरबहादुरको पनि निधन भइसकेको छ ।

बिरबहादुरले जमानत राखेको जग्गा जमानत दिने जग्गाधनी जबरे सार्कीका हकवाला जसबहादुरले २०७८ माघ २६ गते उक्त धरौटी वापतको रकम ६१ हजार १ सय २५ रुपियाँ अदालतमा जम्मा गर्नु भएपनि उक्त जग्गा फुकुवा भएको थिएन । पछि पनुः उहाँले उक्त जग्गा फुकुवा गरिपाउँ भनी २०८० पुष २३ गते अदालतमा निवेदन दिनुभएपछि जिल्ला अदालतको आदेशमा २०८० माघ १३ गते जग्गा फुकुवाको फैसला भएको जसबहादुरले बताउनु भयो ।

आफ्नो सर्वश्व रहेको १२ रोपनी जग्गा सशस्त्र द्वन्द्वको समयमा झुठा मुद्दामा अदालतको फैसलाबाट रोक्का हुँदा आफुलाई यसबिचमा निकै अप्ठ्यारो भएको भन्दै जसबहादुरले अहिले २८ वर्ष पछि बल्ल न्याय पाएको बताउनु भयो ।

जसबहादुरलाई कानुनी प्रक्रियामा सहयोग गर्नु भएकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोईरालाले सशस्त्र द्वन्द्वको क्रममा एक निर्दाेष व्यक्तिलाई राज्यले झुठा मुद्दामा फँसाएर उहाँको घर जग्गा नै जफत गरेको अवस्थामा अहिले २८ वर्ष पछि आएर बल्ल उहाँले न्याय पाउनु भएको बताउनु भयो ।

photo1 081-2-18 tanahun

photo 2 081-2-18 tanahun

 

अन्य

भिडियो