१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल भनिने शम्भुलाल तामाङलाई ०८१ जेठ १६ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश गीता श्रेष्ठको इजलासले कैद सजायसँगै ५ लाख रूपियाँ जरिबाना र कसुरदारबाट असुल गरिएको रकममध्ये ३ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल तामाङविरुद्ध ०८० असार १० गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई ०८० असार ९ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा गरिएको थियो । जिल्ला अदालतको साउन २ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।