बाह्रबिसे नपा–४ स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा प्रहरी यातनाका कारण मृत्यु भएका खड्कबहादुर तामाङका बुबाले न्यायका लागि पहल गरिदिन ०८१ जेठ १६ गते इन्सेकसँग आग्रह गर्नु भएको छ । घटना भएको तीन वर्ष बित्न लाग्दासमेत आफूले न्याय नपाएको मृतकका बाबु कामी तामाङले इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरि दिन अनुरोध गर्नु भएको हो ।
बाह्रविसे नपा– ७ घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तमाङलाई चोरी आरोपमा प्रहरीले ०७८ साउन १८ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रविसेले अनुसन्धानको लागि हिरासतमा राखेको थियो । प्रहरी हिरासतमा रहेका तमाङको यातनापछि उपचारको लागि धुलिखेल अस्पताल लैजादै गर्दा ०७८ साउन २२ गते बाटोमै मृत्यु भएको थियो ।
हिरासतमा भएको यातनाबाट मृत्यु भएर पनि क्षतिपूर्ति र बालबालिकालाई भरण पोषणको व्यवस्था नहुँदा आफ्नो जिवनयापनमा समस्या भएको तामाङले बताउनु भयो ।
“घटनापछि जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी दक्षकुमार बस्नेतले पीडित परिवारलाई राहत र बालवालिकालाई भरण पोषणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भएको थियो । तर प्रतिबद्धता अनुसार हालसम्म आफूहरूले राहत र बालबालिकाको भरण पोषणको व्यवस्था नभएको कामी तामाङको भनाइ छ ।”
घटनाको छानविन गर्न तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा समिति गठन भए पनि समितिको प्रतिबेदनमा पनि मृतक परिवार र बालबालिकालाई भरण पोषणको व्यवस्था गर्ने उल्लेख भएको तामाङले बताउनु भयो ।
घटना हुँदाको समयमा इलाका प्रहरी कार्यालय बाह्रविसेमा इन्स्पेक्टर देवेन्द्र शाह प्रमुख भए पनि उहाँ बिदामा बसेको समयमा घटना भएको थियो भने निमित्त प्रमुख सइ दामोदर कुइकेलले इलाका प्रहरी कार्यालयको नेतृत्व गर्नुभएको थियो । हिरासत व्यवस्थापन अधिकृत असइ देवेन्द्रराज सुवेदीको जिम्मेवारी थियो । उहाँहरूकै लापरबाहीका तथा यातना कारण घटना भएको पीडित पक्षको आरोप छ ।
प्रहरीले गिरफ्तार गरेकै दिन साउन १८ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेका चिकित्सक डा. जिवनराज श्रेष्ठले खड्गबहादुर तामाङको पहिलो पटक गरिएको स्वास्थ्य परीक्षणमा कुनै चोटपटक नभएको चिकित्सकको रिर्पोट छ ।
प्रहरीले पीडित तामाङको उपचारको लागि भन्दै साउन २२ गते राति १ बजे स्वास्थ्य केन्द्र लैजादा हातमा निलडाम सहित मान्छे निकै गम्भीर देखिएपछि स्वास्थ्य केन्द्रकी डा.अनुपमा थापाले धुलिखेल अस्पताल रिफर गर्नुभएको थियो । घाइतेलाई प्रहरीले धुलिखेल अस्पताल पुर्याउदा धुलिखेल अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय र इन्सेकले समेत घटनाको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययन पछि इन्सेकले समेत पीडित परिवारलाई राहत र मृतकका बालबालिकालाई भरण पोषणको व्यवस्थाकालागि सम्बन्धित निकाय समक्ष अनुरोध गरेको थियो ।
सरकारी निकायबाट भरण पोषणको व्यवस्था नहुँदा मृतक तामाङको एक छोरी, पत्नी, बुबा र आमा गरी चारजनाको परिवार अहिले जिवन यापनको सङ्कटमा परेकोले न्यायका लागि पहल गरिदिन इन्सेकसँग आग्रह गरेको मृतकका बुबा कामी तमाङले बताउनु भयो ।
