खत्याड गाउँपालिका–३ स्थित ०७१ सालमा स्थापना भएको जीटीएएम बाल आश्रममा आर्थिक स्राेत अभावका कारण १२ जना बालबालिकाहरुको पठनपाठनमा समस्या भएको छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक व्यवस्था गरेको छ । धारा ३१ को १मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक व्यवस्था गरेको छ तर आश्रममा आर्थिक स्राेत अभावकाे कारण बालबालिकाहरुको पठनपाठनमा समस्या भएको हो ।
बाल आश्रममा हाल १२ जना बालबालिका सेवा पाउँदै आएका छन् । आठ देखि १७ वर्षका बालबालिका कक्षा १ देखि १० कक्षामा अध्ययनरत छन् । जसमा नाै जना छात्र र तीन जना छात्रा रहेका छन् ।
जिल्लामा रहेका सहारा विहीन र टुहुरा बालबालिकाहरुका लागि स्थानीय अम्मराज बाँनियाले उक्त बाल आश्रम सञ्चालन गरेका हुन् । दाताको आर्थिक सहयोगको भरमा चलाइएको सो आश्रमलाई पछिल्लो समय सहयोग आउन छाडेपछि बालबालिकालाई पठनपाठन र आवश्यक खाने तथा बस्ने व्यवस्था गर्न समेत समस्या भएर बन्द गर्ने अवस्था आएकाे सञ्चालक बाँनियाले जानकारी दिनु भयो ।
‘आश्रमको आयस्रोत नै दाताले दिएको सहयोग हो । अहिले कतैबाट सहयोग पाउन नसकिएकाले बालबालिकाका लागि शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या भइरहेको छ । शैक्षिक खर्च व्यवस्थापन मुस्किल छ,’ आश्रम सञ्चालक बाँनियाले बताउनु भयो । आश्रम सञ्चालन गर्न नसक्ने अवस्था आएको छ । आश्रम सञ्चालन भएन भने बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुने र बालबालिकालाई थप समस्या हुने उहाँको भनाइ छ ।
सोरुगाँउपालिका–८ कच्चे गाँउका दिपेश कार्कीले बाल्यकालमा आमा गुमाए । घरको आर्थिक अवस्था कमजोर हुँदा बुबाले आश्रममा ल्याएर राखीदिनु भयो । सानैमा आमा गुमाएपछि बुबाको माया पनि पाएन । आश्रम बसेको केही वर्षमै बुबाको पनि निधन भयो । आश्रमबाटै एसइई परीक्षा दिने तयारीमा रहेको दिपेश कार्कीले बताउनु भयो । अन्य ११ जना बालबालिका विभिन्न कारणले यसै आश्रममा आश्रित छन् ।
विजय कार्की, दिपेश कार्की र रुपेश कामी कक्षा १० मा अध्ययनरत छन् । यस्तै, प्रकाश थापा, मनिशा रावल र जना लावड कक्षा ९, राजेश मल्ल–८, दरिन्द्र सार्की र राजेन्द्र लावड कक्षा ६, गौरव भियाल–५, दिपेश भण्डारी –३ र निशा बाँनिया ३ कक्षामा अध्ययनरत छन् । आश्रमका बालबालिकालाई पछिल्लो समय खान बस्न सँगै पठनपाठनमा समेत समस्या हुने गरेको दिपेश कार्कीले बताउनु भयो । बाल आश्रम बन्द भएपछि पठनपाठनबाट वञ्चित हुने बालबालिकाको गुनासो छ ।
खत्याड गाँउपालिकाको चार बर्ष पहिले नै ७ लाख ५० हजार रुपियाँ बजेटमार्फत उपलब्ध गराएर आश्रमको भवन बनाउनमा सहयोग गरेको थियो । जग्गा भने आश्रमको नाममा रहेको छ ।
पछिल्लो समय भने पालिकाबाट आश्रमलाई आर्थिक सहयोग नगरेको खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले जानकारी दिनु भयो । तर, यो वर्षको बजेटमा प्रकृया पुर्याएर आश्रमले सहयोग माग गरेमा भने पालिकाले केही व्यवस्था गर्न सक्ने उहाँको भनाइ छ ।

