जुगल गाउँपालिका–२ स्थित लिदिका बालबालिकाहरू घरभन्दा विद्यालय धेरै टाढा भएपछि पढ्नबाट वञ्चित भएका छन् ।
तामाङ र लामा समुदायको बसोबास रहेको र जुगल हिमालमुनिको बस्तीको रुपमा चिनिने लिदी गाउँका बालबालिकाहरू माध्यमिक तहको विद्यालयसम्म पुग्न नौ घण्टा पैदल हिँडेर जानुु पर्छ ।
लिदि गाउँमा श्री सातकन्या आधारभूत विद्यालय छ । तर गाउँमा रहेको स्कुलको पढाइ सकेर त्यहाँका बालबालिकाहरू नौ घण्टाको जोखिमयुक्त बाटो पैदल हिँडेर जुगल गाउँपालिका–५ स्थित श्री रत्नराज्य मावि चनौटेमा जानुपर्ने बाध्यता छ ।
घरभन्दा विद्यालय धेरै टाढा भएपछि लिदि गाउँका बालबालिकाहरू पढाइ छाडेर खेतिपाति र पशु चरन पेसामा संलग्न हुन्छन् र उमेर पुगेपछि खाडिमुलुकमा विदेशिने याहाँको परम्परा नै बसेको जुगल गाउँपालिका–२ लिदिका सोमलाल दोङले बताउनुभयो ।
लिदि गाउँमा रहेको श्री सातकन्या आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । त्यसपछिको पढाइ पूरा गर्न नौ घण्टाको पैदल बाटो हिँडेर चनौंटे जानुपर्ने यहाँका बालबाालिकाको बाध्यता छ ।
लिदि गाउँमा विद्यालय जाने उमेरका १ सय ८७ जना बालबालिकाहरू छन् । त्यस मध्ये १ सय २१ जना बालबालिकाहरू गाउँमा रहेको श्री सातकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका छन् । भर्ना भएकाहरू मध्ये पनि ८८ जना मात्र नियमित विद्यालय आउने गरेको शिक्षक सुनलाल दोङले बताउनुभयो ।
लिदिगाउँमा रहेको विद्यालयको पढाइ सकेर यस वर्ष ३५ जना बालबालिकाहरू जुगल गाउँपालिका–५ स्थित श्री रत्नराज्य मावि चनौटेमा भर्ना भई कोठा लिएर बसेका छन् । बाँकी बालबालिकाहरू चौरी र भेडी चराएर खर्कमा बस्छन् ।
लिदिमा १ सय ७२ घर परिवार रहेका छन् । गाउँ सानो भएकोले त्यहाँ माध्यमिक विद्यालय चलाउन कठिनाइ भएको वडा अध्यक्ष चन्द्रकाजी लामा बताउनुहुन्छ । लिदिका बालबालिकाहरू माध्यमिक कक्षा पढ्न निकै टाढा जानुपर्ने बाध्यता भएकाले अधिकांश बालबालिकाले पढाइ बिचैमा छाड्ने गरेको अध्यक्ष लामाले बताउनुभयो ।
उहाँले लिदिका बालबालिकाको पढाइ निरन्तरताका लागि रत्नराज्य माविमा छात्रावासको व्यवस्था गर्ने योजना ल्याइनेतर्फ सोच्न सकिने पनि बताउनु भयो ।
