INSEC Online

📅 २०८३ जेष्ठ २१

मनाङको सदरमुकाममै पक्की पुल नहुँदा, आवतजावतमा समस्या

विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ ।

पक्की पुल नहुँदा आवतजावतको लागि काठको पुल निर्माण गरिएको छ । जिल्लाको मुटु मानिएको चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो ।

सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरि पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् ।

चामे– १ तिमाङस्थित तिमाङखोलामा, चामे– २ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुइओटा घट्टेखोलामा काठेपुलले मात्रै आवतजावत गर्न सकिन्छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेँसीसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकेको बताउनुभयो ।

‘वर्षा लाग्न थालेको छ, यससँगै काठका पुल बाढीले बगाउँछ, आवतजावत नै रोकिने समस्या फेरि दोहोरिनेछ । एउटा काठेपुल निर्माणका लागि वर्सेनि पाँच–सात लाख लाग्छ, अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउन बाध्य छौँ ।’ उहाँले बताउनुभयो ।

आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठेपुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताउनुभयो । सडक निर्माण आयोजना, संघीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि यहाँ पुल निर्माण गर्न नसक्दा आमनागरिकको गुनासो पूरा गर्न नसकिएको उहाँको भनाई छ ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले मेरुदण्डको रूपमा रहेको यस सडकमा काठेपुलमात्र हुँदा सवारीसाधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ । जिल्लाको मुख्य सडकमा मात्र नौ ओटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थनीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरूको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणको विषयमा छलफल भइरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका काठेपुल हटाउने गरी पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि सम्झौता भएको डुम्रे–बेसीँसहर–चामे आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार यस सडकखण्ड अन्तरगत १५ ओटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम हुने र बोलपत्र आह्वान हुनासाथ निर्माण थालिने योजना रहेको बताउनुभयो ।

जिल्लाका विभिन्न क्षेत्रबाट आउने यात्रु, पर्यटक तथा सवारीसाधन पक्की पुल नहुँदा काठेपुलको भरमा सञ्चालित छन् । वर्षामा काठेपुलबाट आवतजावत गर्दा थप समस्या र जोखिम हुँदै आएको स्थानीय बताउँछन् ।

अन्य

भिडियो