सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षले खुट्टा भाचेर अपाङ्गता भएका चौतारा साँगाचोकगढी नगरपालिका– ८ का भीमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै ०८१ जेठ १० गते एक निवेदन मार्फत न्यायका लागि पहल गरिदिन इन्सेक सिन्धुपाल्चोक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।
पीडित भीमबहादुरलाई ०५७ फागुन ४ गते घरमा बसिरहेको अवस्थामा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको एक समूह आएर घरभन्दा केही पर पुर्याइ दुवै हात पछाडि बाँधेर देव्रे खुट्टा ढुङ्गामाथि राखेर घनले प्रहार गरी सख्त घाइते बनाएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
घटनाको भोलिपल्ट फागुन ५ गते आफन्तले उपचारका लागि काठमाडौँ स्थित बि एण्ड बी अस्पताल पुर्याएका थिए । तीन वर्षसम्म बि एण्ड बी अस्पतालमा बसेर उपचार गराउँदा कतैबाट उपचार खर्च नपाएको द्वन्द्व पीडित भीमबहादुरको गुनासो छ ।
घटनाको समयमा आफ्नो खुट्टामा घनले हानेर आफूलाई अपाङ्गता बनाउने चार जना व्यक्तिहरू चिनेको भन्दै उनीहरू मध्ये एक जना सांसद र मन्त्रीसम्म भएको पीडित भीमबहादुरले बताउनु भयो । अहिले पनि उनीहरू आफ्नै अगाडि खुल्लेआम हिँड्डुल गर्ने गरेका छन् ।
आफूभने अपाङ्गता भएर राम्रोसँग हिँडडुल गर्न नसक्ने भएको पीडितले बताउनु भयो । दैनिक औषधि खानुपर्ने र आम्दानिको स्रोत केही नभएको र राहत पनि नपाएको श्रेष्ठले दुःखेसो पाेख्नुभयाे।
न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, गृह मन्त्रालय, मानव अधिकार आयोग, शान्ति समिति, सत्य निरुपण तथा मेलामिलाप आयोग लगायतका निकायमा उजुरी दिए पनि हालसम्म कतैबाट न्याय नपाएकोले इन्सेक समक्ष न्यायका लागि पहल गरिदिन अनुरोध गरेको उहाँले बताउनु भयो ।
