
वर्षासँगै आएको हावाहुरीले तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित प्राथमिक विद्यालय सडेपारको जस्तापाता र एलबेस्टरको छाना उडाउँदा एक महिनादेखि विद्यालयको पठनपाठन प्रभावित भएको छ । हावाहुरीले उडाएको छाना हालसम्म मर्मत सम्भार नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयले बताएका छन् ।
विद्यालयमा छाना नभएपछि चर्को घाम र पानी कक्षाकोठा भित्र पस्दा बालबालिकाले पठनपाठनमा समस्या खेप्दै आएको र दिवाखाजा बनाउने, खाने, बस्ने कोठाको समेत अभाव भएको स्थानीयले बताएका छन् ।
भौतिक संरचना जिर्ण रहेको विद्यालयमा कम्तीमा सात ओटा कक्षाकोठाको आवश्यक्ता रहेकोमा दुई ओटा भवनमा चार ओटा कक्षा कोठा मात्र रहेकोले कक्षाकोठामा नै प्रधानाध्यापकको कार्यालय राख्नुपरेको प्रधानाध्यापक मनुलाल यादवले बताउनु भयो । बालविकासदेखि कक्षा पाँच सम्मको पढाइ हुने विद्यालयको एउटा कक्षाकोठाको जस्तापाताको छाना पूर्णरूपमा उडाएर क्षति पुर्याएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । विद्यालयमा पर्खाल नहुँदा शैक्षिक सामग्रीहरू चोरी हुने त्रास रहेको तथा शौचालय अभावले बेलाबेलामा बालबालिकाहरूले कक्षा छाड्नु परेको उहाँले गुनासो गर्नुभयो । प्रधानाध्यापक यादवले भन्नुभयो –“हावाहुरीले छाना उडाउँदा तत्काल बिद्यार्थीका लागि दिवाखाजा सञ्चालन गर्न सकिने अवस्था छैन ।”
वर्षेनी हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयको भवन जीर्ण भएकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । कोशी नहरको छेउमा सञ्चालित विद्यालयमा पर्खाल नहुँदा नहरको पानी र खेतमा जमेको खाल्डोको पानीमा बालबालिकाहरू डुब्ने जोखिम रहेको प्रधानाध्यापक यादवले बताउनु भयो ।
तिलाठी कोइलाडी गाउँपालिकामा वैशाख १५ गते जानकारीसहित निवेदन दिएपछि शिक्षा शाखा संयोजक चन्द्रभूषण राय, विपद व्यवस्थापनका संयोजक राजेश कुमार झा, राजेन्द्र देवकी माध्यमिक विद्यालय कोइलाडीका प्रधानाध्यापक दिपेन्द्र झा, शंकर पव्लिक एकेडेमी स्कुल तोपाका संस्थापक अध्यक्ष अमित सोनी लगायतले जेठ ३ गते विद्यालयको अनुगमन गरेका छन् । अनुगमन पश्चात टोलीले पर्खालसहित नयाँ भवनको आवश्यकता महसुस गरी तत्काल मर्मतसम्भारका लागि कार्यपालिकामा प्रतिवेदन बुझाएको र कार्यपालिकाले निर्णय गर्न बाँकी रहेको विपद व्यवस्थापनका संयोजक झाले बताउनु भयो ।