नरैनापुर गाउँपालिकाको इन्जिनियर प्रवीन श्रेष्ठ र सगीर अहमद दर्जीलाई नरैनापुर गाउँपालिका-१ का वडाध्यक्ष इशाक जोलाहाले ०८१ जेठ ६ गते दुर्व्यवहार गरेको आरोप लागेको छ ।
नरैनापुर गाउँपालिकाको कार्यालयभित्रको योजना शाखामा इन्जिनियर प्रवीन श्रेष्ठ र सगीर अहमद दर्जीलाई वडाध्यक्षले अवाञ्छित क्रियाकलाप एवम् गैर कानुनी आचरण प्रदर्शन गरेकाले कर्मचारीहरूको मनोबल खस्किनुका साथै इज्जत मान प्रतिष्ठामा समेत आघात पर्न गएकोले दोषी उपर प्रचलित कानुन बमोजिम कार्बाहीको माग गरेका छन् ।
कर्मचारीहरूले जेठ ६ गते विज्ञप्ति जारी गर्दै इन्जिनियर प्रवीन श्रेष्ठ र सगीर अहमद दर्जीमाथि भएको दुर्व्यवहार घटनाको प्रचलित कानुन बमोजिम कार्बाहीकाे माग गर्दै प्रकृया अगाडि नबढ्दासम्म नरैनापुर गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा बन्द रहने जानकारी गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नरैनापुर गाउँपालिकाको कार्यालयभित्रको योजना शाखाका इन्जिनियर श्रेष्ठ र दर्जीलाई वडाध्यक्षद्वारा फोहर शब्द प्रयोग गरी गालीगलौज गरेको, कुटपिट प्रयास गर्नुका साथै हातपात गरी ज्यानमारी जेल जान्छु भन्दै धम्की दिने जस्ता क्रियाकलाप एवम् दुर्व्यवहार भएको छ ।’